युक्रेन युद्ध अन्त्य गर्नका लागि गोप्य योजना बनाउँदै अमेरिका र रुस


एजेन्सी । ट्रम्प प्रशासनले रुससँग गोप्य परामर्श गर्दै युक्रेन युद्ध अन्त्य गर्ने नयाँ योजना मस्यौदा गरिरहेको अमेरिका र रुसका अधिकारीहरूले एक्सियोस समाचार वेबसाइटलाई बताएका छन् ।

यो २८ बुँदे अमेरिकी योजना राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा सफलतापूर्वक गराएको सम्झौताबाट प्रेरित छ । एक उच्च रुसी अधिकारीले एक्सियोसलाई यस योजनाबारे आशावादी रहेको बताए । तर, युक्रेन र उसका युरोपेली समर्थकहरूले यसलाई कसरी लिन्छन् भन्ने अझै स्पष्ट छैन ।

स्रोतहरूका अनुसार, योजनाका २८ बुँदाहरू चार मुख्य क्षेत्रमा विभाजित छन् । युक्रेनमा शान्ति, सुरक्षा प्रत्याभूति, युरोपमा सुरक्षा र अमेरिका–रुस तथा अमेरिका–युक्रेन सम्बन्धको भविष्यलाई ती बुँदामा समेटिएको छ ।

पूर्वी युक्रेनको भूभागमा नियन्त्रण जस्ता विवादास्पद विषयमा योजना कसरी अघि बढ्छ भन्ने स्पष्ट छैन । त्यहाँ रुसी सेना बिस्तारै अघि बढिरहे पनि क्रेमलिनले दाबी गरेभन्दा निकै कम क्षेत्रमा नियन्त्रण रहेको बताइन्छ ।

ट्रम्पका दूत स्टिभ विटकफले यस योजनाको मस्यौदा नेतृत्व गरिरहेका छन् र रुसी राजदूत किरिल दमित्रियभसँग यसबारे विस्तृत छलफल गरेका छन् ।

रुसको सम्प्रभु सम्पत्ति कोष चलाउने तथा युक्रेन मामिलामा गहिरो गरी संलग्न रहेका दिमित्रियभले सोमबार एक्सियोससँगको अन्तर्वार्तामा अक्टोबर २४–२६ मा मायामी भ्रमणका क्रममा उनले विटकफ र ट्रम्प टिमका अन्य सदस्यहरूसँग तीन दिन छलफल गरेको बताएका थिए ।

दिमित्रियभले भने, ‘विगतका प्रयासहरूभन्दा फरक यसपटक रुसी अडान साँच्चै सुनिने हामी अपेक्षा गर्छौं ।’ त्यसैले उनी सम्झौताको सम्भावनाबारे आशावादी छन् ।

विटकफ बुधबार टर्कीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने तयारीमा थिए तर भ्रमण स्थगित भएको युक्रेनी र अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यसअघि यो साता मायामीमा विटकफले जेलेन्स्कीका राष्ट्रिय सुरक्षा सल्लाहकार रुस्तेम उमेरोभसँग योजना बारे छलफल गरेका थिए । अमेरिकीहरू केही कुरामा काम गरिरहेको आफूहरूले थाहा पाएको एक युक्रेनी अधिकारीले बताए ।

ह्वाइट हाउसका एक अधिकारीले भने, ‘अब हत्याहिंसा बन्द गरेर युद्ध अन्त्य गर्ने सम्झौता गर्नुपर्छ भनी राष्ट्रपतिले स्पष्ट रूपमा धारणा राख्नुभएको छ । लचिलो भएमा यो निरर्थक युद्ध अन्त्य गर्न सकिने ट्रम्प विश्वास गर्नुहुन्छ ।’

दिमित्रिएभका अनुसार, अगस्ट महिनामा अलास्कामा ट्रम्प र पुटिनबीच सहमति भएका सिद्धान्तहरूलाई आधार बनाएर युक्रेन द्वन्द्व समाधान गर्ने, अमेरिका–रुस सम्बन्ध पुनःस्थापना गर्ने तथा रुसको सुरक्षा चिन्ता सम्बोधन गर्ने प्रस्ताव तयार पारिँदैछ ।

उनले भने, ‘यो युक्रेन मात्र नभई साँच्चै युरोपमा दिगो सुरक्षा कसरी ल्याउने विषयको धेरै फराकिलो फ्रेमवर्क हो ।’

ट्रम्प र पुटिनबीच अर्को भेट हुनुभन्दा पहिले लिखित दस्तावेज तयार पार्ने लक्ष्य छ । बुडापेस्ट शिखर सम्मेलनको योजना अहिलेलाई स्थगित छ ।

दिमित्रियभले यो प्रयास बेलायतको नेतृत्वमा बनेको गाजा शैलीको युक्रेन शान्ति योजनासँग पूरै असम्बन्धित रहेको बताए । त्यस योजनाले रुसको अडानलाई बेवास्ता गर्ने भएकाले असफल हुने उनले दाबी गरे ।

अहिले अमेरिकी पक्षले युक्रेनी र युरोपेलीहरूलाई आफ्नो वर्तमान दृष्टिकोणका लाभहरू बुझाइरहेको उनले बताए । ‘यस पृष्ठभूमिमा रुसले युद्धक्षेत्रमा थप सफलता हासिल गरिरहेको छ र हाम्रो प्रभाव बढ्दैछ,’ उनले थपे ।

ह्वाइट हाउसले युक्रेनीहरूसहित युरोपेली अधिकारीहरूलाई नयाँ योजनाबारे ब्रिफिङ सुरु गरेको अमेरिकाका अधिकारीले पुष्टि गरे ।

‘हामीसँग युक्रेनी र युरोपेलीहरूलाई सहमत गराउने वास्तविक मौका छ र सबै पक्षको सुझाव अनुसार योजना परिमार्जन गरिनेछ । यस योजनाका लागि अहिले उपयुक्त समय हो । तर, दुवै पक्ष व्यावहारिक र वास्तविक हुनुपर्छ,’ उनले बताए ।