बंगलादेशमा हसिनाविरुद्धको फैसलाअघि सुरक्षा व्यवस्था कडा, उपद्रो गर्नेलाई देख्नेबित्तिकै गोली हान्ने आदेश

1.1k
Shares

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा महानगरीय प्रहरी आयुक्त शेख मोहम्मद सज्जात अलीले सोमबार हुने इन्टरनेशनल क्राइम्स ट्राइब्युनलको फैसलाअघि आगजनी, पेट्रोल बम विस्फोट वा प्रहरी तथा सर्वसाधारणलाई हानि पुर्‍याउने प्रयासमा संलग्न जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश जारी गरेका छन् ।

ढाका ट्रिब्युनसँग कुरा गर्दै आयुक्तले भने, ‘मैले जनधन जोगाउन आदेश दिएको हुँ । जसले गाडी र प्रहरीमाथि पेट्रोल बम हानेर आगो लगाउँछन् वा सवारीसाधनमाथि पेट्रोल बम फाल्छन्, तिनीहरूलाई कानूनअनुसार गोली हान्न आदेश दिइएको छ ।’

यो आदेश निवर्तमान प्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसलाका विषयमा सम्भावित अशान्तिको पूर्वानुमान गर्दै सुरक्षा निकायहरूले राजधानीभरि उच्च सतर्कता अपनाइरहेका बेला आएको हो ।

आइतबार बिहानदेखि नै प्रहरी, सेना, बिओजीबी, ¥याब, एपीबीएन र विभिन्न गुप्तचर निकायहरू व्यापक परिचालन गरिएको छ । आईसीटी र उच्च अदालत क्षेत्र वरिपरि विभिन्न तहको सुरक्षाघेरा बनाइएको छ ।

महत्त्वपूर्ण क्षेत्रमा गस्ती, छानाबाट निगरानी, चेकपोस्ट र आवत–जावत नियन्त्रण कडा पारिएको छ ।

फैसला राष्ट्रिय तथा निजी टिभी च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ ।अधिकारीहरू सबै निकाय जस्तोसुकै परिस्थितिका लागि तयार रहेको बताउँछन् ।

प्रतिबन्धित अवामी लीगले १६–१७ नोभेम्बरका लागि आह्वान गरेको दुईदिने बन्दसँगै राजधानीभरि पेट्रोल बम विस्फोट र आगजनी बढेको छ ।

विगत दुई दिनमा मात्र मिरपुर, हातिरझील, अग्रगाँ, न्यु एस्काटन र एयरपोर्ट रेल्वे स्टेशन नजिक नौवटा आगजनी र थुप्रै विस्फोट भएका छन् ।

आइतबार भएको एक विस्फोटमा पैदलयात्री ५० वर्षीय अब्दुल बासिर घाइते भएका छन् ।

प्रहरीका अनुसार, नोभेम्बर १–११ बीच १५ स्थानमा १७ विस्फोट भएका छन्, १७ मुद्दा दर्ता भएको छ र ५० जना पक्राउ परेका छन् ।

यसअघि डीएमपी आयुक्त सज्जात अलीले यी घटनालाई संगठित तवरले शहर अस्थिर बनाउन गरिएको तोडफोड अभियानको संज्ञा दिएका थिए । त्यसैले गर्दा आइतबार राति देख्नासाथ गोली चलाउने आदेश जारी गर्नुपरेको हो ।

आइतबार दिउँसोसम्म ट्राइब्युनल क्षेत्र एक प्रकारको सैन्य किल्ला झैं देखिन्थ्यो ।

बख्तरबन्द गाडीहरू राष्ट्रिय ईदगाह र मत्स्य भवन चोकमा राखिएको थियो ।

स्नाइपर र गुप्तचर टोलीहरू भवनका छानामाथि तैनाथ छन् । आईसीटीतिर जाने सबै बाटो स्क्यानर र ब्यारिकेड लगाएर बन्द गरिएको छ ।

ढाका विश्वविद्यालय, शाहबाग, प्रेस क्लब, फार्मगेट, मोटिजील, धानमण्डी, कारवाँबजार र गुलिस्तानलगायत क्षेत्रहरूमा कडा निगरानी गरिएको छ।

अवामी लीगले हसिनामाथि चलिरहेको मुद्दालाई ‘राजनीतिक’ भन्दै फैसला आउने दिन देशव्यापी ‘लकडाउन’ को घोषणा गरेको छ ।

सरकारले भने यो दाबी अस्वीकार गर्दै हसिनाको शासनकालमा गरिएका अत्याचारहरूको पर्याप्त प्रमाण प्रस्तुत गरिएको बताएको छ ।

व्यवसायी र सर्वसाधारण भने बढ्दो विस्फोट र आगजनीका कारण तनावमा छन् ।