पूर्वबैंकर कमल ज्ञवालीः अति महत्त्वाकांक्षाले शिखरदेखि सडकसम्म (भिडियो)


सेयर बजार र घरजग्गाले अर्बपति बनेका पूर्वबैंकर कमल ज्ञवाली कसरी भूईंमा झरे ? आज हामी उनै ज्ञवालीको उत्तारचढावको यथार्थ कथा प्रस्तुत गर्दैछौं ।

२०५२ सालमा १० हजार रुपैयाँ बोकेर गुल्मीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका, कमल ज्ञवाली । काठमाडौंमा उनले अध्ययनसँगै काम पनि गर्न थाले, सुरुमा पढाउने काम गरे । तर, पछि वित्तीय क्षेत्रमा केहि गर्ने सोच आयो ।

त्यसपछि खोले गरे किस्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स । ज्ञवालीले २०५९ सालमा ५ करोड रुपैयाँमा ‘पावर टु सक्सिड’ भन्ने मूल नाराका साथ किस्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स खोले । फाइनान्स कम्पनी हुँदा किस्टले तीन पटक ५, १० र ३ प्रतिशतमात्रै नगद लाभांश दियो । उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउँदै ०६६ साल बैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किस्ट बैंक बनाए । किस्टलाई उनले सबैभन्दा बढी अर्थात् ५१ शाखा भएको बैंक बनाए ।

हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैचोटी २ अर्ब रुपैयाँ बैंकको पुँजी पुर्‍याएइएको थियो । हकप्रदको बाढीले किस्टको सेयर सूल्य आकासियो । त्यसबेला किस्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो । काठमाडौं छिरेको १०/१२ वर्षमै उनले ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए ।

उनी जतिजति सफल हुँदै गए, त्यतित्यति उनको लोकप्रियता पनि बढ्दै गयो । सफलता र लोकप्रियताले उनलाई झन् महत्वाकांक्षी बनाउँदै लग्यो ।

२०६२/६३ सालतिर काठमाडौंमा घरजग्गाको भाउ आकासियो । ज्ञवाली घरजग्गाको कारोबारमा सक्रिय भए । साझेदारीमा जग्गा प्लटिङ पनि गर्थे उनी । बैंकहरूले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए ।

तत्कालीन किस्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पर्थ्यो । किस्ट बैंकका प्रबन्ध सञ्चालक उनै ज्ञवाली थिए । घरजग्गा र सेयरमा आक्रमक तरिकाले पैसा कमाउन थाले । ज्ञवालीले छोटो समयमै मनग्गे पैसा कमाए । उनले कमाएको सम्पत्तिको सबै स्रोत सेयर र घरजग्गा थियो ।

तर घरजग्गाकै कारण सन् २००८ को विश्व आर्थिक मन्दी आयो । राष्ट्र बैंकले २०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरूलाई परिपत्र गर्‍यो । त्यसबेला राष्ट्र बैंकका गभर्नर थिए, डा. विजयनाथ भट्टराई । राष्ट्र बैंकको त्यही परिपत्रपछि नेपालमा पनि घरजग्गा करोबारमा मन्दी आयो । यता ज्ञवालीले ५० करोड रुपैयाँभन्दा बढी त घरजग्गामै लगानी गरेका थिए ।

२०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर पनि थियो । किस्ट बैंकमा मात्र ज्ञवालीसँग आफ्नो र अरूको नाममा गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो ।

सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो । त्यसबेला ज्ञवाली नेपालका धनीहरूको सूची निकाल्नुपर्‍यो भन्थे । किनकी, उनी आफूलाई देशकै धनाढ्य व्यक्तिहरूमध्ये एक ठान्थे ।

२०६६ सालपछि घरजग्गाको कारोबार ठप्पजस्तै भयो । उता सेयर बजार पनि लगातार घट्यो । लगानीयोग्य पुँजी अभाव लगायतका समस्याका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्‍यो । १ वर्षको अवधिमा भएका यी घटना ज्ञवालीका लागि आकाश खसेझैं भयो । तर पनि आफूसँग भएको सेयर र घरजग्गा बेचेनन् । केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुधार आउला भन्ने आशामा बसे । पहिलाको ऋण थेग्न ऋणमाथि अर्को ऋण थपे ।

तर, परिस्थित झन् भयावह बन्दै गयो । संकट टरेन । उनी झन् समस्यामा फस्दै गए । समस्यामा फसिरहेका फरि अर्को ठूलो समस्या आयो । ज्ञवालीविरुद्ध राष्ट्र बैंकमा उजुरी पर्‍यो ।

त्यसबेला राष्ट्र बैंकका गभर्नर थिए डा. युवराज खतिवडा । ज्ञवालीसँग खतिवडाको इगो प्रोब्लम थियो ।

ज्ञवाली गभर्नरका लागि नाम सिफारिसमा परेका तत्कालीन डेपुटी गभर्नर वीरविक्रम रायमाझीलाई गभर्नर बनाउन लबिइङ गर्दै हिँडेका थिए । तर, गभर्नर भए खतिवडा । खतिवडा ज्ञवालीलाई सिध्याउने दाउ कुरेर बसिरहेका थिए । त्यहीबेला ज्ञवाली विरुद्ध उजुरी पर्‍यो ।

उजुरीका आधारमा राष्ट्र बैंकले २०६९ सालमा छानबिन गर्दा ज्ञवालीले १२ करोड पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्को प्रकाशन प्रालिबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो ।

किस्टले जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्कालै उठायो पनि । सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी किशोर ढकाललाई भने बैंकिङ कसूर अन्तर्गत मुद्दा दायर गर्न सीआईबीलाई पत्राचार गरियो ।

सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि उनीविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्‍यो । किस्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको भन्दै सीआईबीले ज्ञवाली विरुद्ध मुद्धा दायर गरेको थियो । बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि उनी फरार भए । २०७० जेठ २२ मा ज्ञवालीकी पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरियो । तर कमल ज्ञवाली भेटिएनन् । गौरीलाई केही समयमा धरौटीमा छुटाइयो ।

उता ज्ञवालीविरुद्ध सीआईबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किस्ट बैंकले आफ्नो अस्तित्व नै गुमायो । त्यसपछि तत्कालीन प्रभु विकास बैंकले २०७१ भदौ ३० गते किस्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरू गर्‍यो । किस्ट बैंक किनेपछि प्रभुले २०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँब्याज सहित २३ करोड रुपैयाँ असुल पनि गर्यो ।

फरार भएका ज्ञवालीलाई ५ वर्षपछि प्रहरीले २०७५ असोज १५ गते भारतको नयाँदिल्लीबाट पक्राउ गर्‍यो ।

त्यसपछि पाटन उच्च अदालतले जेल र ६ करोड ६५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । ज्ञवालीलाई नजिकबाट चिन्नेहरूका अनुसार ज्ञवाली अति नै महत्त्वाकांक्षी थिए ।

त्यसबेला देखि जेल सजाय भुक्तानी गरिरहेका ज्ञवालीलाई हालै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले कात्तिक १० गते कारागार कार्यालय, डिल्लीबजार समेतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गौरीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । ११ कात्तिकमा सर्वोच्चका न्यायाधीश मधराज पोखरेलले कारण देखाउ आदेश जारी गरेका थिए ।

सोही मुद्दामा कात्तिक १७ गते सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा ज्ञवालीलाई थुना मुक्त्त गराउन सर्वोच्चले परमादेश जारी गरेपछि पूर्वबैंकर ज्ञवाली जेलमुक्त हुने भएका हुन् ।

ज्ञवालीको यो यथार्थ कहानीले अति महत्त्वाकांक्षाले मानिसलाई कसरी माथि पुर्‍याउँछ अनि ग्वार्लाम्मै भूईंमा झार्छ भन्ने गतिलो उदाहारण हो ।