
एजेन्सी । फेसबुकले झूटा र गैरकानूनी विज्ञापनहरूबाट अर्बौं डलर कमाइरहेको रोयटर्स समाचार संस्थाको खोजमा खुलासा भएको छ ।
रोयटर्सले पाएको गोप्य कागजातहरूका अनुसार, सन् २०२४ मा फेसबुकको माउ कम्पनी मेटाको कुल आम्दानीको करिब १० प्रतिशत (करिब १६ अर्ब अमेरिकी डलर) यस्ता गलत विज्ञापनहरूबाट आएको अनुमान छ ।
मेटाले अन्तर्राष्ट्रिय स्तरमा दैनिक करिब १५ अर्ब झूटा विज्ञापनहरू प्रयोगकर्ताहरूलाई देखाइरहेको यी कागजातहरूमा देखिन्छ । कम्पनीका विभिन्न विभागहरू (आर्थिक, सुरक्षा, इन्जिनियरिङ, नीतिगत) का कर्मचारीरूले सन् २०२१ देखि २०२५ सम्मको यस समस्याको निरन्तर चर्चा गरिरहेका थिए ।
मेटाले आफ्नो प्रणालीमा ९५ प्रतिशतभन्दा बढी ठगीको सम्भावना देखिएपछि मात्र विज्ञापन बन्द गर्छ । तर, जोखिम ९५ प्रतिशतभन्दा कम भए पनि मेटाले ती विज्ञापनहरू चल्न दिन्छ र तिनीहरूलाई जरिवाना तिराउँछ । यसले गर्दा ठग विज्ञापनदाताहरू लामो समय सक्रिय रहन्छन् । विशेषगरी धेरै पैसा खर्च गर्ने हाई भ्यालु अकाउन्ट्सलाई रोकिँदैन ।
यसबाहेक प्रयोगकर्ताले क्लिक गरेको सामग्रीसँग मिल्ने विज्ञापनहरू मेटाको विज्ञापन प्रणालीले बारम्बार देखाउँछ । त्यसैले, ठगी विज्ञापनमा क्लिक गर्ने प्रयोगकर्ताले अझ बढी ठग विज्ञापनहरू देख्न थाल्छ । मेटामा झूटो विज्ञापन चलाउन गुगलमा भन्दा सजिलो भएको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् २०२५ को पहिलो ६ महिनामा विज्ञापनहरू हटाउँदा कम्पनीको कुल आम्दानीको ०.१५ प्रतिशतभन्दा बढी घाटा नहोस् भन्ने मेटाको योजना थियो । त्यो भनेको करिब १३ करोड ५० लाख डलर हो । मेटाले नाफा घट्ने डरले गर्दा झूटा विज्ञापनहरू हटाउन ढिलो गर्दै आएको यसले देखाउँछ ।
यी तथ्यांकहरू हावादारी भएको बताए मेटाका प्रवक्ताले बताए । कम्पनीले ठगीविरुद्ध धेरै सुधार गरेको दाबी पनि उनले गरे । उनका अनुसार, १८ महिनामा झूटा विज्ञापनका विरुद्ध गरिएका रिपोर्टहरू ५८ प्रतिशत घटेका छन् र सन् २०२५ मा १३ करोडभन्दा बढी झूटा विज्ञापनहरू हटाइएका छन् ।
तर, सन् २०२५ मा अमेरिकामा भएका ठगीका घटनामध्ये करिब एकतिहाइ मेटाका प्लेटफर्महरूबाट सुरु भएको आन्तरिक रिपोर्टले देखाएको छ । बेलायतमा भने सन् २०२३ मा भुक्तानीसम्बन्धी ठगीबाट भएको क्षतिको ५४ प्रतिशत मेटाका उत्पादनहरूसँग जोडिएको पाइएको थियो । यसले गर्दा कम्पनीमाथि अमेरिका र अन्य देशका नियामक निकायहरूले अनुसन्धान गरिरहेका छन् ।
मेटाले ठगी र गैरकानूनी विज्ञापनबाट हुने आम्दानी सन् २०२४ को १०.१ प्रतिशतबाट घटाएर सन् २०२७ सम्ममा ५.८ प्रतिशत पुर्याउने लक्ष्य बनाएको छ । तर, मेटाका शीर्ष अधिकारीहरूले धेरै छिटो कडा कारबाही गर्दा नाफा घट्ने डरले सावधानी अपनाएको कागजातहरूले देखाउँछन् ।
‘विज्ञापनमा हुने धोकाधडी रोक्न नियामक निकायहरूले बढी जिम्मेवारी लिनुपर्ने कुरा उठाइएको छ । बैंकहरूले ठगीबाट नाफा कमाउन दिँदैनन् भने प्राविधिक कम्पनीहरूलाई पनि त्यस्तो गर्न दिनुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया