
एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा डेमोक्रेटिक पार्टीका मेयर उम्मेदवार जोहरान मामदानी विजयी भएका छन् ।
न्युयोर्क शहरको १११औं मेयर बन्ने क्रममा मामदानीले पूर्व गभर्नर एन्ड्रु कुओमो र रिपब्लिकन पार्टीका उम्मेदवार कर्टिस स्लिवालाई पराजित गरेका हुन् ।
उनी न्युयोर्कका पहिलो मुस्लिम मेयर हुन् ।
३४ वर्षीय मामदानी लोकतान्त्रिक समाजवादी विचारधारामा विश्वास गर्छन् । उनी क्वीन्स क्षेत्रबाट स्टेट एसेम्ब्ली सदस्य थिए ।
खसेको कुल मतमध्ये ५० प्रतिशतभन्दा बढी मामदानीले नै जिते । दोस्रो स्थानमा रहेका कुओमोले ४० प्रतिशतभन्दा केही मत ल्याए भने स्लिवाले ७ प्रतिशतभन्दा केही बढी भोट जिते ।
मामदानीको जन्म युगान्डाको राजधानी कम्पालामा भएको थियो । उनका पिता महमूद मामदानी प्राज्ञिक व्यक्तित्व हुन् भने आमा मिरा नायर फिल्म निर्देशक हुन् । मामदानी पाँच वर्षको हुँदा उनको परिवार दक्षिण अफ्रिका बसाइँ सरेको थियो । त्यसको दुई वर्षपछि उनीहरू अमेरिका बसाइँ सरेर न्युयोर्कमा बस्न थाले । मामदानीले सन् २०१४ मा मेन राज्यमा रहेको बाउदोआँ कलेजबाट अफ्रिकाना स्टडीजमा स्नातक गरेका थिए ।
त्यसपछि केही समय उनले घरजग्गा परामर्शदाता र हिपहप र्याप संगीतकर्मीका रूपमा काम गरेका थिए ।
मामदानी पहिलोपटक न्युयोर्क स्टेट एसेम्ब्लीमा सन् २०२० मा निर्वाचित भएका थिए । त्यसक्रममा उनले पाँचपटक विजयी भएका आराभेला सिमोतालिाई डेमोक्रेटिक प्राइमरी निर्वाचनमा हराएका थिए । उनी सन् २०२२ र २०२४ मा निर्विरोध निर्वाचित भएका थिए ।
सन् २०२५ मा न्युयोर्क शहरको मेयरको उम्मेदवारी घोषणा गरेपछि मामदानीविरुद्ध लगातार आक्रमण हुन थालेको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मामदानी कम्युनिस्ट भएको र उनले न्युयोर्क डुबाइदिन्छन् भनी मतदातामाझ त्रास फैलाउन खोजेका थिए । मामदानी निर्वाचित भएमा न्युयोर्क शहरलाई पर्याप्त फन्ड नदिने घोषणा पनि ट्रम्पले गरेका थिए ।
मामदानीले अमेरिकाको आधुनिक राजनीतिक इतिहासकै सबैभन्दा अप्रत्याशित जित कसरी हासिल गरे ? डेमोक्रेटिक पार्टीको प्राइमरीमा जितेपछि यस जीतको राजनीतिक महत्त्व घटाउनका लागि सबैले कोसिस गरे । तर, मामदानीले असन्तुष्ट मजदुर वर्गको भावना बोलिरहे ।
एन्ड्रु कुओमो र एरिक एडम्स कमजोर उम्मेदवार थिए । मामदानी र उनको टोलीले सामाजिक सञ्जालको उत्कृष्ट प्रयोग गरिदियो । तर, उनको निर्वाचन अभियानको ऊर्जा राजनीतिक दृष्टिकोणबाट अलग राखेर हेर्न सकिँदैन ।
उनको अभियान घरपरिवारका सामान्य मुद्दामा मात्र सीमित थिएन । उनले मजदुर वर्गको लागि जीवनयापन खर्च घटाउनमा ध्यान दिए । मामदानीले तीन साहसी योजनामा निरन्तर जोड दिए : निःशुल्क शिशु स्याहार, छिटो र निःशुल्क बस सेवा र भाडामा स्थिरता । यी सबै सरकारले चाल्ने कदमबाट सम्भव हुने कुरा हुन् । सबैभन्दा महत्त्वपूर्ण त उनले धनीहरूलाई कर लगाएर कल्याणकारी काम गर्न सम्भव हुने बताए ।
धनी कम्पनीहरूको चन्दामा मामदानी निर्भर थिएनन् । पुरानो डेमोक्रेटिक नेतृत्वले पनि उनलाई खासै साथ दिएको हैन । उनी प्यालेस्टाइनीहरूको पक्षमा उभिनुलाई पनि धेरैजसो न्युयोर्कवासीले स्वतन्त्र छवि भएका उम्मेदवारका रूपमा लिए ।
बर्नी स्यान्डर्सजस्तै गरी मामदानीले मजदुर र अर्बपतिबीचको संघर्षको कुरा गर्दा मानिसहरूले उनी साँचो बोलिरहेका छन् भनी अनुभव गर्थे । यही विश्वासका आधारमा उनले अमेरिका लोकतान्त्रिक समाजवादी कार्यकर्ताहरूको सहयोगमा ९० हजारभन्दा बढी स्वयंसेवकको विशाल अभियान सञ्जाल बनाए ।
उनले युवा हुनुको फाइदा पनि भरपूर उठाए । उनले नयाँ र मुख्यतया युवा मतदाताहरूलाई प्रेरित गरेर निर्वाचन जितेका हुन् ।
विगत केही महिनायता मामदानीको ब्याज वा टिसर्ट लगाउने मान्छेले सहरभरि अनजान मानिसबाट थम्स अप र जयजयकार पाउने गर्थे । उनले शिक्षित युवाहरूमा मात्र प्रभावित पारेको नभई ब्राउनस्भिल र ईस्ट न्युयोर्कजस्ता मजदुरबहुल क्षेत्रहरूमा पनि जिते । उनले मध्यमवर्गका महिलाको पनि समर्थन पाए । ती महिलाहरू ट्रम्पविरुद्ध डेमोक्रेटिक नेताहरूले देखाएको कमजोरीका कारण आक्रोशित छन् ।
युवा र मजदुरहरूले पुरानो प्रणालीबाट वाक्कदिक्क भएर नयाँ विकल्प खोजिरहेको कुरा मामदानीको जीतले प्रमाणित गरेको छ । रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका नेताहरूले न्युयोर्क अपावदको शहर भनेर खारेज गर्न खोज्नेछन् तर न्युयोर्कका पछिल्ला चारमध्ये तीन मेयर (एरिक एडम्स, माइकल ब्लूमबर्ग र रुडी जुलियानी) प्रगतिशील थिएनन् ।
अमेरिकाभरिका मजदुरहरू महँगो जीवनयापन खर्चबाट पीडित छन् । त्यसैले जोहरान मामदानीको एजेन्डाबाट उनीहरू प्रभावित भएका हुन् । अन्य क्षेत्रमा पनि मामदानी जस्ता उम्मेदवारहरूको सम्भावना बढेर गएको छ ।








प्रतिक्रिया