
एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कले आफ्नो ग्रोकीपिडिया सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले यसको घोषणा गरेका हुन् ।
मस्कले लामो समयदेखि सम्पादकीय पूर्वाग्रह राखिएका सामग्री भएको भन्दै विकिपिडियाको आलोचना गर्ने गरेका थिए तर ग्रोकीपिडियालाई विकल्पका रूपमा प्रस्तुत गरेका हुन् ।
तर, ग्रोकीपिडियामा राखिएका केही सामग्री विकिपिडियाको भन्दा फरक देखिएपछि प्रयोगकर्ताहरूको ध्यान आकर्षित भएको छ ।
सत्य, पूर्ण सत्य र केवल सत्य ग्रोकीपिडियाको लक्ष्य भएको मस्कले लेखे । यो त्रुटिरहित नभएपनि त्यसलाई सुधार्नतर्फ आफूहरू सधैं प्रयासरत रहने उनको भनाइ छ ।
‘नोबेल पुरस्कार’ जस्ता विषय खोज्दा पृष्ठको तल लेखिएको हुन्छ, ‘यो सामग्री क्रिएटिभ कमन्स एट्रिब्युशन ४.० लाइसेन्स अन्तर्गत विकिपिडियाबाट रूपान्तर गरिएको हो ।’
ग्रोकीपेडियाका लेखहरूलाई मस्कको एआई कम्पनी एक्सएआईद्वारा विकसित ग्रोक बोटले ‘फ्याक्ट–चेक’ गरेको दाबी गरेको छ ।
तर, कतिपय प्रयोगकर्ताले भने विकिपिडियाबाट सिधै सारिएको सामग्री पनि भेटिएको बताएका छन् ।
एक प्रयोगकर्ताले लेखेका थिए्, ‘तपाईंलाई थाहा छ, ग्रोकले विकिपेजहरू प्रयोग गर्छ नि ?’
जवाफमा मस्कले भनेका थिए, ‘मलाई थाहा छ । यो वर्षको अन्त्यसम्म सुधार्नेछौं ।’
ग्रोकीपिडिया र विकिपिडियाका मुख्य भिन्नताहरू यसप्रकार छन् :
सामग्री स्रोतः ग्रोकीपिडिया — एआई–ग्रोकद्वारा सिर्जना गरिएको वा छानिएको; विकिपिडिया — स्वेच्छाले योगदान गर्ने मानवद्वारा सम्पादित ।
सञ्चालन प्रणालीः विकिपिडियामा खुला सम्पादन र पारदर्शी इतिहास प्रणाली छ; ग्रोकीपिडियामा अहिले सीमित सम्पादन र कम पारदर्शिता ।
व्यावसायिक स्वरूपः विकिपिडिया नाफारहित र खुला लाइसेन्समा आधारित छ; ग्रोकीपिडिया भने नाफामूलक प्रवृत्तिको छ ।
परिमाणः विकिपिडियामा करोडौं लेख छन् र तिनको हजारौं दैनिक सम्पादन हुन्छन्, ग्रोकीपेडियाको अहिले संस्करण ०.१ मात्र छ र १० लाखभन्दा कम लेख छन् ।
विकिपिडिया सञ्चालन गर्ने विकिमिडिया फाउन्डेशनले एक वक्तव्य जारी गर्दै विकिपिडियाको ज्ञान सधैं मानवीय हुने जनाएको छ । खुला सहयोग र सहमतिका माध्यमबाट विश्वका मानिसहरूले मानवीय बुझाइको तटस्थ र जीवित अभिलेख निर्माण गर्ने गरेको उसको भनाइ छ । यही ज्ञानमा ग्रोकीपेडियासहितका एआई कम्पनीहरूले सामग्री तयार गर्ने उसले जानकारी दिएको छ ।
विकिपिडियाको वैकल्पिक रूप बनाउन यस्ता प्रयोगहरू पहिले पनि धेरै भएका तर तिनले आफूहरूको उद्देश्यमा कुनै असर नगर्ने विकिमिडिया फाउन्डेशनको भनाइ छ ।







प्रतिक्रिया