लोन पोर्टफोलियो रिभ्यु’का लागि १० वटै बैंकमा पुग्यो स्थलगत टोली

3.1k
Shares

काठमाडौं । १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्युका लागि छनोट भएको बंगलादेशको फर्म हाउल्याडर युनुस एण्ड कम्पनीले एकसाथ १० वटै बैंकमा गएर काम सुरु गरेको छ ।

दशैं अघिबाटै अफसाइट तथ्यांक विशलेषण सुरु गरेकोमा आतबारबाट १० वटै बैंकमा राष्ट्र बैंकका प्रतिनिधि र हाउल्याडरले छनोट गरेको नेपाली चार्टर्ड एकाउन्टेन्टसहितको टोलीले काम सुरु गरेको हो ।

तिहार अगाडि उक्त टोलीले १० वटै बैंकको नीति र पोलीसी तथा तथ्यांक संकलन गर्ने र छठपछि भने स्थलगत विश्लेषण र अनुगमन समेत हुने राष्ट्र बैंकले जनाएको छ ।

‘अहिले बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडरबाट २ जना र नेपाली चार्टर्ड एकान्टेन्ट छनोट गरेर उनीहरुको प्रतिनिधि र नेपाल राष्ट्र बैंकको प्रतिनिधिसहितको टोली १० वटै बैंकमा गएर बैंकको कर्जा नीति पोलीसी र आवश्यक विवरणको अध्ययन सुरु भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तिहारपछि भने बंगलादेशी कम्पनीले सिफारिस गरेको चार्टर्ड एकाउन्टेन्ट २ जना र नेपाल राष्ट्र बैंकको प्रतिनीधि २ जना सहित ४ जनाको टोली हरेक बैंकमा अनसाइट निरीक्षण हुन्छ।’

अहिले अनसाइट निरीक्षणको लागि आवश्यक विवरण र नीति तथा पोसीसी समेतको अध्ययनको लागि राष्ट्र बैंकबाट १ जना र बंगलादेशी लेखापरिक्षण फर्मले तोकेको प्रतिनिधि सहितको टोली बैंकमा आवश्यक प्राविधिक तयारी अगाडि बढाएको हो । तिहार छठपछि भने कम्पनीले छनोट गरेका चार्टर्ड एकाउन्टेन्टहरु आएर अनसाइट निरिक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको सम्झौता गर्दा १० ठुला वाणिज्य बैंकको लोन फोर्टफोलियो रिभ्यु गर्नुपर्ने शर्त राखेको थियो । अन्तर्राष्ट्रिय लेखापरिक्षण फर्मबाट कर्जाको गुणासतर परिक्षण गर्नुपर्ने शर्त कार्यान्वयन गर्दै राष्ट्र बैंकले बंगलादेशी फर्म छनोट गरेको थियो ।

उक्त फर्मले दशैंअघिबाटै अफसाइट काम सुरु गरेको थियो भने छठलगत्तै अनसाइट काम सुरु गर्न पुर्वतयारीका लागि १० वटै बैंकमा एकसाथ टोलि पठाएको हो ।