
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच र नेसनल पेमेन्ट इकोसिस्टको प्रतिवेदन सुझावको लागि सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै १० मंसिरभित्र सुझाव दिन आह्वान गरेको हो ।
नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र गतिमा विस्तार भइरहेको भए पनि यसले अझै पनि केही चुनौतीहरू सामना गरिरहेको राष्ट्र बैंकले जनाएको छ । डिजिटल भुक्तानीमा एकिकृत पुर्वाधार र ‘इन्टिग्रेसन’ को समस्या रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यस्ता कमी र समस्याहरू सम्बोधन गर्न र देशका भुक्तानी प्रणालीहरूलाई एकीकृत गर्न नेशनल पेमेन्ट स्विचले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेशनल पेमेन्ट स्विच नेपालका खुद्रा भुक्तानीहरूको लागि केन्द्रीय स्विचिङ पूर्वाधारको रूपमा कार्य गर्ने प्रतिवेदनमा उल्लेख छ । यसले भुक्तानी प्रणालीका ‘क्लोज्ड-लुप’ नेटवर्क/स्किमहरू र भुक्तानी पूर्वाधारहरू बीच सहज रुपमा अन्तरआवद्धता गराउने डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसले विभिन्न भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गरेर सबै प्रयोगकर्ताहरू फन्ड ट्रान्सफर, बिल भुक्तानी र डिजिटल भुक्तानी रिसिभ गर्ने जस्ता डिजिटल कारोबारमा एकीकृत, छिटो र प्रभावकारी भुक्तानी अनुभव सिर्जना गर्ने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले प्रतिवेदनमा परिकल्पना गरेको समग्र राष्ट्रिय भुक्तानी इकोसिस्टम विकासको आधारभूत सिस्टम नेसनल पेमेन्ट स्विच त्यसको संरचना र प्रमुख साझोदारहरु, कार्ड र गैर-कार्ड दुवै प्रकारका खुद्रा भुक्तानी प्रणालीहरूको अन्तरआवद्धता सुनिश्चित गर्न नेसनल पेमेन्ट स्विचको भूमिकाको विषय समावेश गरेको छ ।
नेसनल पेमेन्ट स्विचको कार्यान्वयन कानुनी र नेपाल राष्ट्र बैंकको रणनीतिक निर्णयबाट समेत अगाडि बढेको हो । भुक्तानी तथा सेटलमेन्ट ऐन, २०७५ मा सबै संस्था र तिनका भुक्तानी उपकरण राष्ट्र बैंकले तोकेको प्रक्रिया अनुसार नेसनल पेमेन्ट स्विचसँग एकीकृत हुनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाले देशभर एकीकृत, सुरक्षित र अन्तरआवद्धता भएको भुक्तानी ‘नेसनल पेमन्ट इकोसिस्टम’ को विकासलाई सुदृढ आधार प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकको रणनीतिक योजना २०१७-२०२१ मा पनि नेसनल पेमेन्ट स्विचको विकासलाई प्राथमिकता दिइएको छ । सोही रणनीतिक कार्यले राष्ट्र बैंकको दीर्घकालीन दृष्टिकोणलाई झल्काउने र जसको उद्देश्य नेपालको भुक्तानी पूर्वाधारलाई आधुनिकीकरण, अन्तरआवद्धता प्रवर्द्धन, कार्यक्षमता वृद्धि र वित्तीय समावेशीकरण सुनिश्चित गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।
सोही कानुनी र रणनीतिक निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गरी नेपाल क्लियरिङ हाउस मार्फत नेसनल पेमेनट स्विच स्थापना र सञ्चालन गर्ने व्यवस्था गरेको थियो ।
जसले खुद्रा भुक्तानी प्रणालीहरूबीच अन्तरआवद्धता प्रवर्द्धन गर्न, साथै प्रणालीगत जोखिम र सञ्चालन लागत घटाउन उद्देश्य राखेको प्रतिवेदनमा उल्लेख छ ।
भुक्तानी प्रणालीका विभिन्न उपकरणहरु सञ्चालक वा नेटवर्कबाट कार्यान्वयन गरिएका विद्यमान भुक्तानी पूर्वाधारलाई एकीकृत र उपयोग मुख्य उद्देश्य रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नेपालभित्र कार्ड र गैर-कार्ड दुवै प्रकारका खुद्रा भुक्तानी प्रणालीलाई समेट्ने राष्ट्रिय भुक्तानी इकोसिस्टम कार्यान्वयन गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय नेटवर्क प्रदायकसँग इन्टिग्रेसन र आपसी सहकार्य प्रवर्द्धन गरी सुगम र प्रभावकारी सीमापार भुक्तानी सुनिश्चित गर्नु यसको उद्देश्य हो । त्यस्तै सबै घरेलु कारोबारहरूको सेटलमेन्ट केन्द्रीय बैंक मुद्रामार्फत नेसनल पमेन्ट स्विच प्रणाली प्रयोग गरेर सहज बनाउने उद्देश्य रहेको छ ।







प्रतिक्रिया