
काठमाडौं । हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
पाकिस्तानका हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिन खोजेको थियो । उक्त सेयर नेशनल लाइफ इन्स्योरेन्सले खरिद गर्न भएको सम्झौतालाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
हिमालयन बैंकबाट पेश भएका कागजातहरुको जवाफदेहिता संस्था स्वयंमा निहित रहने गरी प्रचलित ऐन, कानुन तथा एकीकृत निर्देशनको अधीनमा रही कुनै संस्था वा निकायबाट रोक्का रहेको भएमा कानून बमोजिम रोक्का फुकुवा लगायतका प्रक्रियाहरु पुरा गरी खरिद / बिक्री हुनुपूर्व पुनः कालोसूचीमा रहे/नरहेको यकीन गरी नेशनल लाइफ इन्स्योरेन्सलाई बैंकको संस्थापक सेयरहरु खरिद/बिक्री गर्ने स्वीकृति प्रदान भएको राष्ट्र बैंकले जनाएको छ ।
नेशनल लाइफले उक्त सेयर बिक्री गरी हस्तान्तरण गर्नुअघि खरिद गर्ने फर्म वा कम्पनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्रै कारोबार गर्न पाउने सर्त सहित राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
हबिब बैंक प्रतिकित्ता न्युनतम ११२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न आवेदन दिएपनि हिमालयन बैंकहरुले बहालवाला सेयरधनीसँग खरिदको लागि सुचना प्रकाशित गरेकोे थियो । जसमा हिमालयन बैंकको बहालवाला सेयरधनी नेशनल लाइफ इन्स्योरेन्सले उक्त सेयर एकमुष्ट ११८ रुपैयाँ ८० पैसामा खरिद गर्नको लागि बैंकले प्रस्ताव पेश गरेकोमा त्यसलाई स्वीकार गर्दै हबिब बैंक र नेशनल लाइफबीच गत साउन अन्तिम साता सेयर खरिद बिक्री सम्झौता भएको थियो ।
लगत्तै स्वीकृतिको लागि राष्ट्र बैंकको स्वीकृतिको लागि पठाएको राष्ट्र बैंकले अध्ययन गरी २६ असोजमा स्वीकृति दिएको हो ।
हबिब बैंकले सेयर बेच्न दिएको निवेदनपछि बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो । सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम बैंकको बहालवाला कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो । सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।
सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको सर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको थियो । न्युनतम प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेमा नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्न बोलपत्र पेश गरेको थियो ।
हबिबले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेशनल लाइफ र हबिबबीच सेयर खरिद बिक्री सम्झौता भएको थियो ।
बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।







प्रतिक्रिया