
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी प्रणाली सञ्चालक र एक भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ ।
केन्द्रीय बैंकले प्रभु ग्रुपको प्रभु टेक्नोलोजी प्रालिलाई दिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको हो । कम्पनीले प्रभुपे नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको थियो । कम्पनीले २०७६ फागुन ११ मा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाएको थियो ।
‘प्रभु टेक्नोलोजी प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (४) को व्यवस्थाबमोजिम नवीकरण नगरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
यससँगै कम्पनीले सञ्चालन गरेको भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वन गरेको हो ।
यस्तै भुक्तानी प्रणाली सञ्चालक फर्स्ट पे–टेक्नोलोजी प्रा.लिको पनि इजाजतपत्र खारेज भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कम्पनीलाई २०७६ फागुन १३ गते लाइसेन्स दिएको थियो । ‘ फर्स्ट पे–टेक्नोलोजी प्रा.लिका भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नु समेत आह्वान गरेको छ ।







प्रतिक्रिया