नेपालमा पछिल्लो समय एआई फिचरसहितको फाइभजी सपोर्ट गर्ने सेट आएका, प्रविधिमैत्री ग्राहकको संख्या बढ्दै गएको र मोबाइलकै कारण दैनिकी सहज भएको कारण महँगा सेट विलासिता नभएर आवश्यकता हुँदै गएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो पाँच वर्षपछि दशैंमा स्मार्ट फोनको व्यापार बढेको छ । सामान्यत योजना बनाउने र दशैं केन्द्रित किनमेल गर्ने नेपालीको रुचीका कारण यो वर्षको दशैंलाई आयात भएको मोबाइल र त्यसमा लागेको भन्सार मूल्यले मोबाइलको खपत बढाएको देखिएको छ ।
भन्सार विभागको गत साउन र भदौको तथ्यांक अनुसार ८ अर्ब ८७ करोड रुपैयाँ भन्सार मूल्यका ५ लाख मोबाइल भित्रिएको छ । यस्तो मोबाइल आयात कोरोनाको समयमा मात्रै दशैंमा बढेको थियो । २०७८ मा नेपालमा १० अर्ब रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको देखिएको छ ।
त्यसअघि २०७७ मा ७ अर्ब ९४ करोड रुपैयाँको थियो । २०७९ यता दशैंलाई घट्दै गएको मोबाइल आयात यो वर्ष भने कोरोना पूर्वकै अवस्थामा पुगेको देखिएको छ ।
गत साउन र भदौमा आएको मोबाइल नै दशैंलाई बिक्री भएका छन् । विगतका वर्षहरुमा पनि साउन र भदौमा आयात भएको मोबाइलको तथ्यांकको तुलनामा यो वर्ष आयात बढेको छ । नेपालीले मोबाइल परिवर्तन गर्ने, महंगा र प्रविधिमैत्री सेटले पुरानालाई विस्थापन गर्ने गरेका कारण पनि पछिल्लो समय नेपालमा मोबाइल आयात बढेको देखिएको हो ।
नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तशुल्क लाग्ने गरेका कारण १८.६५ प्रतिशत सरकारलाई राजस्ववापत नै तिर्नुपर्छ । आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिनका कारण मोबाइल फोन भित्रदाको भन्दा ग्राहकले खरिद गर्दासम्म थप ४० प्रतिशत लागत थपिने गरेको मोबाइल आयातकर्ता संघले जानकारी दिएको छ ।
त्यसो हुँदा नेपालमा यो वर्ष दशैंलाई ८ अर्ब ८७ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात हुँदा बजारमा पुग्दासम्म जोडिने ४० प्रतिशत मूल्यका कारण थप ३ अर्ब ५५ करोड रुपैयाँ थप हुन्छ । जसका कारण यो वर्ष साउन र भदौमा आयात भएको मोबाइल अर्थात दशैंलाई भएको मोबाइलको कारोबार करिब १२ अर्ब ४२ करोड रुपैयाँको भएको मोबाइल आयात एसोसिएसनले जानकारी दिएको छ ।
तथ्यांक अनुसार यो वर्ष साउन र भदौमा ५ लाख मोबाइल आएको छ । गत वर्ष साउन र भदौमा ४ लाख ५४ हजार मोबाइल आएको थियो । त्यस अघि २०८० मा भने ३ लाख ६६ हजार र २०७९ मा ४ लाख ३८ हजार थान मोबाइल भित्रिएको थियो ।
कोरोनाको बेला भने २०७८ मा नेपालमा एकै वर्ष साउन र भदौको दुई महिनामा १४ लाख ९८ हजार थान मोबाइल आयात भएको थियो । उक्त वर्ष १० अर्ब ३६ करोड रुपैयाँ भन्सार मूल्यको मोबाइल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय नेपालमा आएको मोबाइल फोन सबै नेपालीले नै खपत गरेको मोबाइल व्यवसायीको भनाइ छ । नेपालमा कर्पोरेट हाउसमा काम गर्नेसहितको मध्यम वर्गले औसतमा १ देखि २ वर्षमै मोबाइल परिवर्तन गर्ने गरेका छन् ।
आम सर्वसाधारणले भने औसतमा ३/४ वर्षमा परिवर्तन गर्ने गरेको छन् । जसका कारण पछिल्लो समय अघिल्लो चलाइरहेको भन्दा थप रेन्जका नयाँ भर्सनमा ग्राहक जाने ट्रेन्डका कारण महँगा स्मार्टफोनको प्रयोग बढ्दै गएको हो ।
एकपटक प्रयोग गरेको भन्दा माथिल्लो रेन्जको मोबाइल प्रयोग गर्ने आम नेपालीको रुची हुने देखिएको छ । जसका कारण विगतमा भन्दा अहिले मोबाइलको आयातको संख्या कम हुँदा पनि भन्सार मूल्य भने उल्लेख बढेको देखिएको छ । महँगा स्मार्ट फोनलाई मासिक किस्ता (ईएमआई)को सुविधा दिइएको र त्यसबाट नयाँ फोन खरिदकर्ता बढेको पनि मोबाइल व्यवासायीको भनाइ छ ।
पछिल्लो ५ वर्षको दशैंलाई भित्रिएका मोबाइल

नेपालमा विस्तारै सस्तो खालको बार फोन चलाउने नेपाली घट्दै गएका छन् । नेपाल टेलिकमका अनुसार टुजी नेटकर्वमा रहेका यस्ता मोबाइल प्रयोगकर्ता अझै ३० लाख छन् । पछिल्लो समय एआई फिचरसहित फाइभजी सपोर्ट गर्ने मोबाइल नेपाली बजारमा आइसकेका छन् । जसले गर्दा प्रयोगकर्ताले जति प्रविधिमैत्री सेट रुचाउँछन् त्यतिनै धेरै स्मार्टफोनको प्रयोग बढ्दै जान्छ ।
पछिल्लो समय मोबाइल डेटाले पनि स्मार्टफोन प्रयोगकर्ता बढेको देखाइहको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत साउनसमम्ममा २ करोड ६६ लाख मोबाइल डेटा प्रयोगकर्तामध्ये ८ लाख ४६ हजार मात्रै थ्रीजीका प्रयोगकर्ता छन् । २ करोड ५७ लाख मोबाइल डेटा प्रयोगकर्ता फोरजीमा छन् । नेपालमा फोरजी प्रयोगकर्ताको हिसावले पनि स्मार्ट फोन प्रयोगकर्ताको बृद्धि दर देखाउँछ ।
नयाँ भर्सनको स्मार्टफोन लन्ज गर्दा ग्राहकले सोही दिन खरिद गर्ने गरेका छन् । जसका कारण बजारमा आएको नयाँ फोन छिटो खपत हुने गरेको छ । नेपाली बजारमा आएका नयाँ भर्सनका महँगा मोबाइल लन्ज गरेकै दिन किन्नेदेखि नयाँ नयाँ भर्सन र रेन्जका सेट नेपालीले खरिद गर्ने गरेको पनि मोबाइल व्यवसायीको भनाइ छ ।







प्रतिक्रिया