दुई वर्षमा पाँचवटा प्रधानमन्त्री बदलिएपछि चिन्तामा म्याक्रोन, साइन नदीको किनारमा एक्लै घुमे

392
Shares

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री सेबासिटयन लेकोर्नुले पदबाट राजीनामा दिएपछि राष्ट्रपति इम्मानुएल म्याक्रोन चिन्तामा परेका छन् ।

मन्त्रिमण्डल गठन भएलगत्तै लेकोर्नुले सोमवार राजीनामा दिएका थिए ।

त्यसपछि चिन्तित म्याक्रोन सोमवार बिहान साइन नदीको किनारमा एक्लै हिँडेको देखिएको थियो ।

उनका अंगरक्षकहरू एक निश्चित दूरी बनाएर अगाडि पछाडि थिए । म्याक्रोन कालो ओभरकोट लगाएर साइन नदीको किनारमा भौंतारिएका थिए ।

उनी यसरी हिँडेको तस्बिर तथा भिडियो फ्रान्सेली टीभीमा प्रसारण गरिएको थियो । । सन् १९६० को दशकमा तत्कालीन राष्ट्रपति शर्ल डीगुलले राजीनामा दिएपछि आयरल्यान्डमा शान्ति प्राप्त गर्न एक्लै हिँडेको दृश्यसँग म्याक्रोनको तुलना गरिएको छ । त्यसपछि डीगुलको राजनीतिक करियर अन्त्य भएको थियो ।

म्याक्रोनको कार्यकाल सन् २०२७ सम्म छ तर लेकोर्नुको राजीनामापछि म्याक्रोनलाई बाँकी कार्यकाल चलाउन निकै गाह्रो हुने देखिएको छ ।

विपक्षी दलहरूसँग कुराकानी गर्नका लागि म्याक्रोनले लेकोर्नुलाई दुई दिनको समय दिएका छन् ।

त्यसो गरेर उनले नयाँ निर्वाचनलाई टार्ने प्रयास गरेका हुन् । निर्वाचन गरेमा उग्रदक्षिणपन्थीहरू सत्तामा आउने डर म्याक्रोनले लिएका छन् । नत्र भने म्याक्रोनले राजीनामा दिनुपर्ने हुन्छ ।

विकल्पहरू खुम्चिँदै जाँदा म्याक्रोन क्रमशः एक्लिँदै गएका छन् । उनका साझेदारहरूले सन् २०२७ मा अवसर छोप्नका लागि धमाधम उनलाई छोड्न थालेका छन् ।

म्याक्रोन अहिले जनतामाझ अलोकप्रिय छन् । लगभग आधा फ्रान्सेलीहरू वर्तमान संकटका लागि उनैलाई जिम्मेवार ठहर गर्छन् । उनले राजीनामा दिएमा संकट समाधान हुने उनीहरूको विश्वास छ ।

पोहोर साल म्याक्रोनले निर्वाचन गराउँदा त्रिशंकु संसद् बनेको थियो । त्यहाँ तीनथरी विचारधाराका सांसदहरूलाई सन्तुष्ट बनाउन म्याक्रोनलाई धौधौ परिरहेको छ ।