
एजेन्सी । भारतको पश्चिम बंगालमा रहेको दार्जीलिङमा मुसलधारे वर्षापछि आएको पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ ।
विपतका कारण दार्जीलिङबाट सिक्किम जाने बाटो बन्द भएको छ ।
उत्तरी बंगाल र सिक्किममा अविरल वर्षाका कारण सडक तथा अन्य पूर्वाधारमा भारी क्षति पुगेको छ । दार्जीलिङ, कालिम्पोङ र सिक्किममा स्थिति नाजुक रहेको बताइएको छ ।
रातभरि परेको पानीका कारण दुधियामा रहेको बालासन नदीको पुल भत्किएको छ । सिलिगुडी र मिरिकलाई जोड्ने त्यो पुल भत्किँदा आवागमन ठप्प भएको छ ।
खर्साङ नजिक हुसेन खोला क्षेत्रमा पनि पहिरो गएको छ ।
कालिम्पोङमा निरन्तर वर्षा भइरहँदा व्यापक क्षति भएको छ । थप पहिरो जाने सम्भावना रहेको अधिकारीहरू बताउँछन् । कैयौं सडकहरू अवरुद्ध छन् भने सञ्चार सुविधा पनि काटिएको छ ।
सिलिगुडी र सिक्किम जोड्ने वैकल्पिक बाटो नेशनल हाईजे ७१७ई मा पनि पहिरो गएपछि आवागमन रोकिएको छ । निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा कठिनाइ आएको अधिकारीहरूको भनाइ छ ।
नदी नजिकका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ । सुरक्षाकर्मीहरूले परिस्थितिको निगरानी गरिरहेका छन् ।








प्रतिक्रिया