
काठमाडौं । सरकारले जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले आइतबार साँझ पत्र सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
आयोगले जारी गरेको पत्रअनुसार राहदानी रोक्का पर्नेको सूचीमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको नाम उल्लेख गरेको छ ।
आयोगले पाँचजनाको हकमा घुमाउरो प्रक्रियामार्फत राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश भ्रमणमा रोक लगाउनु भनेको हो ।
आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।
गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गरेका कारण १९ जनाको प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गर्दैआएका छन् ।
तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । भिड बढ्दै गएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।
जाँचबुझ आयोगले जेन–जी आन्दोलन दमनमा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक सहित प्रमुख जिल्ला अधिकारी रिजालको पनि भूमिका हुनसक्ने देखिएको अनि उनीहरुको पासपोर्ट यथावत राख्दा विदेशतिर जान सक्ने जोखिम भएकाले राहदानी रोक्काको सिफारिस गरेको हो ।











प्रतिक्रिया