
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।
गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आव २०८१/८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब छ करोड ३७ लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।







प्रतिक्रिया