रुसी ड्रोन आफ्नो एयरस्पेसमा आएको भन्दै रोमानियाले जनायो आपत्ति

266
Shares

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गर्ने क्रममा एउटा ड्रोन रोमानियाको एयरस्पेसमा पनि आइपुगेको भन्दै रोमानियाले आलोचना गरेको छ ।

ड्रोन आएपछि रोमानियाले लडाकू विमानहरू उडाएको छ ।

स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेतिर रुसका ड्रोनहरू रोमानियाको एयरस्पेस हुँदै युक्रेनमा प्रवेश गरेको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यसको केही दिनअघि पोल्यान्डले पनि आफ्नो एयरस्पेसमा रुसी ड्रोनहरू आइपुगेपछि तिनलाई खसाएको थियो । त्यसपछि नेटो सदस्यहरूले आफ्नो पूर्वी क्षेत्रमा सुरक्षा बढाएका छन् ।

ड्रोनलाई दुईवटा एफ–१६ लडाकु विमानले इन्टरसेप्ट गरेका थिए । ती विमानहरू उत्तरी भागमा रहेको दोब्रुजामा गश्ती गरिरहेको बेलामा ड्रोन आइपुगेपछि झण्डै त्यसलाई खसाइदिएका थिए ।

ड्रोन करिब ५० मिनेटसम्म घुमेको र त्यसपछि पोल्यान्डको एयरस्पेस छोडेर युक्रेनतर्फ मोडिएको पोल्यान्डको गृह मन्त्रालयले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले यसबारे टिप्पणी गरेको छैन ।

उता रोमानियाले रुसी राजदूत भ्लादिमिर लिपाएभलाई स्पष्टीकरणका आइतवार बोलाएको थियो ।

लिपाएभले रोमानियाका विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्दै यो युक्रेन सरकारको चर्तीकला भएको बताए ।

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यस घटनामा टिप्पणी गर्दै रुसविरुद्ध प्रतिबन्ध लगाउनुपर्ने र सामूहिक प्रतिरक्षा गर्नुपर्ने बताएका छन् ।

पश्चिमा विश्लेषकहरूले नेटो सदस्य राष्ट्रहरूको एयरस्पेसमा पसेर रुसले नेटोको परीक्षा लिइरहेको बताएका छन् ।