
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आईएसपीएएन) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले देशमा गम्भीर संकट निम्त्याएको भन्दै यस्तो कदम नदोहोर्याउन आग्रह गरेको छ।
हालै भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा युवा पुस्ताद्वारा भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते हुनेप्रति आईएसपीएएनले गहिरो दुःख व्यक्त गर्दै भनिएको छ, ‘कनेक्टिभिटी कुनै विशेषाधिकार होइन, यो समाजको जीवनरेखा हो। यसलाई मनपरी नियन्त्रण गर्ने वस्तुका रूपमा लिन सकिँदैन।’
आईएसपीएएनका अनुसार सामाजिक सञ्जालमाथिको प्रतिबन्धले व्यवसाय अवरुद्ध हुनुका साथै आमनागरिकको विश्वास कमजोर पार्यो र ज्यान जानेसम्मको अवस्था बनायो। ‘आम जनताको अधिकार र रोजगारी इन्टरनेटमा आधारित छ। त्यसैले आईएसपीलाई मनपरी आदेश पालना गर्ने माध्यमका रूपमा लिन सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
संस्थाले यस्ता ठूला निर्णय गर्नु अघि आईएसपी, नागरिक समाज र सरोकारवालासँग अर्थपूर्ण छलफल गर्नुपर्नेमा जोड दिएको छ। आईएसपीएएनले पहिले नै ‘अत्यधिक कठोर र अन्धाधुन्ध’ बन्द नगर्न चेतावनी दिएको तर त्यसलाई बेवास्ता गरिएको उल्लेख गरेको छ।
आईएसपीएएनले भनेको छ ‘निर्वाक सहमति होइन: संविधानिक अधिकार र डिजिटल स्वतन्त्रता मिच्ने निर्देशनमा आईएसपी मौन रहँदैनन्, पारदर्शी र परामर्शात्मक नीति निर्माण: आगामी नियम–कानुन नागरिक मूल्यसँग मेल खाने गरी सरोकारवालासँग छलफल गरेर बनाउनुपर्ने।’
लक्षित र अनुपातिक नियमन: गलत सूचना वा हानिकारक सामग्री नियन्त्रण गर्ने उद्देश्यले पूरै सेवा वा प्लेटफर्म बन्द नगर्नुपर्ने।सहयोगी समाधान: सरकार, अन्तर्राष्ट्रिय प्लेटफर्म र नागरिक समाजसँग मिलेर सुरक्षित र दिगो डिजिटल वातावरण बनाउने प्रतिवद्धता आईएसपीएएनले डिजिटल नेपाललाई सबल बनाउन सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको र ‘कनेक्टिभिटीलाई स्विचझैँ बन्द–खोल्ने अभ्यास अब सह्य नहुने’ चेतावनी दिएको छ।







प्रतिक्रिया