
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
मन्त्री अधिकारीले मंगलबार बिहान आफ्नो पदबाट राजिनामा दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै मन्त्री अधिकारीले आफ्नो पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यबाट भएको नियन्त्रणको बिरोधमा जेनजीले गरेको प्रदर्शनको क्रममा ससाना कलिला छोरीछोरीहरुको हत्या र दमन पश्चात शोकाकुल पारेर सरकारमा बसिरहन आफ्नो नैतिकताले नदिएकाले देश र जनतासमक्ष मन्त्री पदबाट राजिनामा पेश गरेको उनले उल्लेख गरेका छन् ।
‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन,’ कृषि मन्त्री अधिकारीले भनेका छन, ‘स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।’








प्रतिक्रिया