सामाजिक सञ्जालमाथिको प्रतिबन्ध एक साता पनि टिकेन, मन्त्रिपरिषदले गर्‍यो फुकुवाको निर्णय

371
Shares

काठमाडौं । सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध सरकारले खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको छ । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले भने ।
भदौ ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत १९ भदौमा सामाजिक सञ्जाल बन्द गराएको थियो ।

सोमबार जेनजीको प्रदर्शनमा राज्यको दमनले डेढ दर्जन युवाले ज्यान गुमाएको छन् भने सयौं घाइते भएका छन् । सो घटनाले बढाएको दबाब थेग्न नसकेर सरकारले प्रतिबन्ध हटाएको हो ।

‘सामाजिक सञ्जाल खुला गर्ने सरकारले निर्णय गरेको छ। तेरो देशको संविधान किन मान्ने भन्छ र अर्बौं रुपैयाँ लिन्छ भन्ने कुरा भएपछि र सर्वोच्चको फैसला आएपछि हामीले बन्द गरेको हो,’ उनले भने, ‘जेनजीको सदासयता हामी प्रति देखियोस् भनेर खोलेको हो ।’

यद्यपि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कुनै पश्चाताप नरहेको उनको भनाइ छ ।