
एजेन्सी । अस्ट्रेलियामा विशाल संख्यामा आप्रवासीहरू भित्रिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
आइतवार सिड्नी, मेलबोर्न र अन्य प्रमुख शहरहरूमा मार्च फर अस्ट्रेलिया नाम दिएर जुलुुस निकालिएको हो ।
जुलुसमा विपक्षी दलका नेताहरू सहभागी थिए । वान नेशन नामक दलकी सिनेटर पलिन हानसन र संघीय संसद्का सदस्य बब काटर पनि जुलुसमा सहभागी थिए ।
अस्ट्रेलियामा हालैका वर्षमा दक्षिणपन्थी अतिवादको उदय भएको छ । सन् २०२५ को आरम्भमा अस्ट्रेलियाले नाजी अभिवादनलाई दण्डनीय अपराध बनाएको थियो । यस कसुरमा अनिवार्य एक वर्षको कैद सजाय हुन्छ ।
सिड्नीमा आयोजित जुलुसमा ८ हजार जति मानिस सहभागी भएको एबीसी अस्ट्रेलियाले समाचार प्रकाशन गरेको छ । जुलुसका क्रममा ठूला घटनाहरू नभएको बताइएको छ ।
मेलबोर्नमा आप्रवासनविरोधीहरूले प्यालेस्टाइन पक्षधरसँग भिडन्त गरेका थिए ।
नवनाजी नेता टमस सेवेलले संसद् भवनको खुड्किलाबाट भीडलाई सम्बोधन गरेका थिए ।
एडलेडमा करिब १५ हजार मानिस जुलुस र प्रतिकार जुलुसमा सहभागी भएको प्रहरीले अनुमान गरेको छ । भीडले संयमित व्यवहार देखाएको प्रहरीको भनाइ छ ।
अस्ट्रेलियाको एकता र साझा मूल्यमान्यतालाई विशाल संख्याका आप्रवासीहरूले ध्वस्त पारिरहेको मार्च फर अस्ट्रेलियाको वेबसाइटमा आरोप लगाइएको छ ।
बढ्दो आप्रवासनका कारण संस्कृति, न्यूनतम आय, ट्राफिक, बसोवास, जल आपूर्ति, वातावण, पूर्वाधार, अस्पताल, सुव्यवस्था सबैमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ ।
जुलुसमा भारतीय मूलका आप्रवासीहरूको विरोध गरिएका पोस्टरहरू पनि देखिएका थिए । १०० वर्षमा आएका जति ग्रिसेली र इटालेलीहरू भन्दा बढी भारतीयहरू पाँच वर्षमा आएका छन्– एउटा पोस्टरमा लेखिएको थियो ।
आप्रवासनको सांस्कृतिक असरका बारेमा आफूहरूलाई थाहा भएको प्रदर्शनकारीहरूको भनाइ छ ।
भारतमा जन्मिएर अस्ट्रेलिया पुगेका व्यक्तिहरूको संख्या उच्च छ । सन् २००१ मा ९५ हजार ४ सय ५२ भारतीय मूलका व्यक्ति अस्ट्रेलियामा थिए भने सन् २०२१ मा त्यो संख्या बढेर ८ लाख ४५ हजार ८०० पुगेको छ ।
अस्ट्रेलियाको कुल जनसंख्याको ३.२ प्रतिशत मानिस भारतीय मूलका छन् ।
नेपालीहरूको संख्या पनि अस्ट्रेलियामा बढिरहेको छ । सन् २०११ मा नेपाली मूलका २४ हजार ६०० मानिस अस्ट्रेलियामा थिए भने सन् २०२३ को जुनमा आइपुग्दा त्यो संख्या बढेर १ लाख ७९ हजार पुगेको छ । नेपालमा ठट्टा गर्दै अस्ट्रेलियालाई आठौं प्रदेश भन्ने गरिएको छ ।








प्रतिक्रिया