ट्रम्पको विशाल पुत्ला बनाएर घुमाइयो भारतमा (भिडियो)

217
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको विशाल पुत्ला बनाएर भारतको नागपुर शहरमा घुमाइएको छ ।

अघिल्लो साता नागपुरमा आयोजित मार्बात उत्सवमा स्थानीयहरूले भारतीय वस्तुमा अमेरिका सरकारले ५० प्रतिशत भन्सार शुल्क लगाएको विरोधमा सांकेतिक प्रदर्शन गरेका हुन् ।

विशाल पुत्लासँगै विरोधका सन्देश लेखिएका कैयौं प्लेकार्डहरू देखिएका थिए । ‘हामीमाथि भन्सार लगाएर हेप्न खोज्छन्, भारतको शक्ति देखेर उनीहरू पछुताउनेछन्,’ ‘हाम्रो वस्तुमा लगाएको आयातकरले उनीहरूको व्यापार चौपट हुनेछ,’ ‘ट्रम्पले भारतको ढाडमा घोपे छुरा’ र ‘अमेरिकी अंकलले भारतमा लगाए बन्देज तर आफैं किन्छन् रुसी सामान’ लेखिएका नारा प्रदर्शन गरिएको थियो ।

नागपुरमा वार्षिक रूपमा मार्बात पर्व मनाउने गरिन्छ । त्यसमा परम्परा, संस्कृति र सामाजिक टिप्पणीहरूको मिश्रण रहन्छ ।

ईसाको १९औं शताब्दीमा सुरु भएको यो पर्वले भूतप्रेत भगाउने लक्ष्य लिएको थियो । मानिसहरूले माटो वा परालको पुत्ला अर्थात् मार्बात बनाउने गर्छन् । तिनलाई नकारात्मक शक्ति वा सामाजिक खराबीको प्रतिनिधि मानिन्छ ।

समय बित्दै जाँदा त्यसलाई समकालीन सामाजिक तथा राजनीतिक विषयमाथि जनताको भावना पोख्ने माध्यम बनाउन थालियो ।

यो वर्ष ट्रम्पको पुत्ला बनाएर अमेरिकाले भारतमाथि लगाएको भन्सार शुल्कको विरोध गरिएको हो ।

पर्व मनाउँदै गर्दा पुत्ला जलाइएको थियो । पुत्लाहरूले भ्रष्टाचार, अन्याय र सामाजिक खराबीको प्रतिनिधित्व गर्ने गरेका छन् ।