जापानले चीन र ताइवानलाई लक्षित गरी क्षेप्यास्त्र तैनाथ गर्ने

490
Shares

एजेन्सी । जापानले चिनियाँ मुख्यभूमिका केही भाग र ताइवानलाई लक्षित गरी क्षेप्यास्त्र तैनाथ गर्न लागेको जापानी सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन् ।

यसबाट जापानको सैन्य विस्तार महत्त्वाकांक्षा झल्किएको र उसकै सुरक्षाका लागि यो बोझ हुने एक चिनियाँ विज्ञको भनाइ छ ।

जापानको दक्षिणपश्चिम भागमा रहेको कुमामोतो प्रिफेक्चरमा जापानी सेनाले टाइप १२ जहाजनिरोधी क्षेप्यास्त्रको अद्यावधिक भर्सन तैनाथ गर्न लागेको हो । चीनले जलक्षेत्रमा गतिविधि बढाइरहेकाले त्यसको प्रतिकार गर्न क्षेप्यास्त्र तैनाथ गरिएको जापानको भनाइ छ ।

आगामी केही वर्षमा अन्य स्थानमा पनि थप क्षेप्यास्त्रहरू तैनाथ गरिने जापानी सञ्चारमाध्यम योमिउरीले शनिवार समाचार प्रकाशन गरेको छ ।

विगतमा जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्सले उपयोग गरेको जहाजनिरोधी क्षेप्यास्त्रको दायरा केही १०० किलोमिटर मात्र थियो भने नयाँ क्षेप्यास्त्रले १ हजार किलोमिटर क्षेत्रलाई समेट्छ । त्यो क्षेप्यास्त्र क्युशुमा तैनाथ गरिँदा त्यसले चिनियाँ मुख्यभूमिका केही भाग र ताइवान टापुलाई पनि समेट्नेछ ।

चिनियाँ सैन्य मामिलाविद् वाङ युनफेले टाइप १२ क्षेप्यास्त्रको अद्यावधिक भर्सन तैथान गर्न खोजेर जापानले आफ्नो शान्तिवादी संविधानलाई परित्याग गर्न खोजेको र यसबाट जापानको सैन्य विस्तार महत्त्वाकांक्षा उजागर भएको बताए ।

जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धको ८०औं वार्षिकोत्सव यही वर्ष परेको छ । यतिखेरै जापानले नयाँ क्षेप्यास्त्र तैनाथ गरेर दोस्रो विश्वयुद्धमा देखाएको आक्रामकताबाट पुगेको विशाल क्षतिलाई गहिरो गरी नसोचेको र त्यही गल्ती दोहोर्याउन खोजेको वाङको भनाइ छ ।

चीनका विरुद्ध टाइप १२ क्षेप्यास्त्र खासै नटिक्ने र जापानले ताइवानका विषयमा हस्तक्षेप गर्ने प्रयास पनि सफल नहुने चिनियाँ विज्ञहरू बताउँछन् । चीनले विजय परेडमा देखाउने अत्याधुनिक हतियारलाई जापानको दक्षिणपन्थी शक्तिले ध्यान दिनुपर्ने वाङ बताउँछन् । नयाँ हतियारमार्फत चीनले युद्धोत्तर विश्व व्यवस्थाको प्रतिरक्षा गर्ने र शान्ति तथा स्थिरताको सुरक्षा गर्ने उनको भनाइ छ ।