
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सहकार्यले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने बताएका छन् ।
चीनको थ्यानचिन शहरमा राष्ट्रपति सी चिनपिङसँगको द्विपक्षीय वार्तामा मोदीले दुई देशको सम्बन्ध पारस्परिक विश्वास, सम्मान र संवेदनशीलतामा आधारित रही अघि बढाउन चाहेको बताए ।
शनिवार थ्यानचिन शहर पुगेका मोदीले सात वर्षमा पहिलोपटक चीनको भ्रमण गरेका हुन् । जापानको दुई दिने भ्रमण सकेर उनी थ्यानचिनस्थित बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
द्विपक्षीय कुराकानीका क्रममा मोदीले पोहोर साल रुसको काजानमा भएको बैठकको स्मरण गर्दै आफूहरूबीचको छलफल निकै फलदायी रहेको र यसले दुई देशको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाएको बताए ।
दुई देशको सीमामा तनाव घटाउने काम (डिसइंगेजमेन्ट) ले शान्ति र स्थिरताको वातावरण निर्माण गरेको उनको भनाइ छ ।
दुवै देशका विशेष प्रतिनिधिहरूका बीच सीमा व्यवस्थापनका विषयमा सहमति बनेको जानकारी पनि मोदीले दिए । सम्बन्धका विभिन्न मोर्चामा भएको प्रगतिको उनले सराहना गरे ।
मोदीले भारत र चीनबीचको सहकार्यले सम्पूर्ण मानवताको कल्याणको बाटो खोल्ने बताए । ‘२ अर्ब ८० करोड मानिसको सरोकार दुई देशबीचको सहकार्यमा निहति छ । यसले सम्पूर्ण मानवताको बाटो पनि खोल्छ । हामी पारस्परिक विश्वास, सम्मान र संवेदनशीलतामा आधारित रही सम्बन्धलाई अघि बढाउन प्रतिबद्ध छौं,’ उनले थपे ।
आफूलाई न्यानो स्वागत गरेको भन्दै मोदीले चिनियाँ राष्ट्रपतिलाई धन्यवाद दिए र एससीओको सफल अध्यक्षता गरेकोमा बधाई पनि दिए ।
उता चीनका राष्ट्रपति सी चिनपिङले मोदीसँग पुनः भेटघाट गर्न पाउँदा खुशी लागेको बताए ।
दुई देशको प्रतिनिधिस्तरीय वार्तामा सीले चीन र भारत दुई प्राचीन सभ्यता भएको बताए । आफूहरू संसारमा सबभन्दा धेरै जनसंख्या भएको मुलुक र ग्लोबल साउथको महत्त्वपूर्ण सदस्य भएको पनि सीले बताए ।
यो वर्ष चीन र भारतबीच कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सव भएको सीले स्मरण गरे । दुवै देशले रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणमार्फत सम्बन्ध व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
दुवै देशले बहुपक्षीयता, बहुध्रुवीय विश्व तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा थप लोकतन्त्र बहालीको ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने सीले बताए । एसिया र समग्र विश्वमा शान्ति र समृद्धिका लागि मिलेर काम गर्न पनि उनले आह्वान गरे ।








प्रतिक्रिया