इन्डोनेसियामा हिंस्रक प्रदर्शन : जनता महँगीमा पिल्सिन बाध्य, सांसदको भत्ता ५ करोड

196
Shares

एजेन्सी । इन्डोनेसियाको मकस्सर नामक स्थानमा हिंसा भड्किएर सरकारविरोधी प्रदर्शन चर्किंदै गएपछि राष्ट्रपति प्रबोवो सुबियान्तोले चीन भ्रमण रद्द गरेका छन् ।

यसैबीच लोकप्रिय सामाजिक सञ्जाल टिकटकको लाइभ फिचर पनि बन्द गरिएको छ ।

देशको दक्षिणमा रहेको सुलावेसी प्रान्तको राजधानी मकस्सरमा रहेको संसद् भवनमा आगजनी गरिँदा कम्तीमा तीनजनाको मृत्यु भएको थियो ।

अघिल्लो सोमवारबाट संसद्हरूको तलबका विषयमा रानधानी जकार्तामा विरोध प्रदर्शन सुरु भएको थियो । त्यसक्रममा प्रहरीको गाडीले एकजना मोटरसाइकललाई ठोकेर मारेपछि विरोध चर्किएको थियो ।

राष्ट्रपति सुबियान्तोको सरकार लगभग एक वर्ष पुग्न लाग्दा हिंस्रक विरोध प्रदर्शन भइरहेको हो । इन्डोनेसियामा विकसित परिस्थितिलाई राष्ट्रपतिले निगरानी गरिरहने उनका प्रवक्ता प्रासेत्यो हादीले बताए । त्यसैले राष्ट्रपतिले चीनको निमन्त्रण स्वीकार गर्न नसकेकोमा चीन सरकारसमक्ष माफी मागेको पनि हादीले जानकारी दिए ।

राष्ट्रपति सुबियान्तो चीनको थ्यानचिनमा हुने भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनका साथै बुधवार आयाृजना गरिन लागिएको विजय परेडमा पनि सहभागी हुने कार्यक्रम थियो ।

इन्डोनेसियाका सबै ५८० सांसदहरूले तलबका अतिरिक्त घरभाडाका रूपमा ५ करोड रुपिया पनि लिने गरेको खबर सार्वजनिक भएपछि देशभरि विरोध प्रदर्शन चर्किएको हो ।

यो नयाँ भत्ता अत्यधिक धेरै भएको आलोचकहरूको भनाइ छ । त्यसमाथि अधिकांश जनताले जीवनयापनका लागि धेरै खर्च गर्नुका साथै चर्को कर तिर्नु परिरहेको र बेरोजगारी पनि बढिरहेको स्थितिमा सांसदहरूको भत्ता असंवेदनशील रहेको विरोधीहरू बताउँछन् ।

विरोधका क्रममा २१ वर्षीय गाडीचालक आफान कुर्नियावानको मृत्यु भएपछि हिंसा भड्किएको थियो । सामाजिक सञ्जालमा उनको मृत्युको भिडियो सार्वजनिक भएपछि जनता रिसाएका थिए र सुरक्षाकर्मीहरूप्रति आक्रोश फैलिएको थियो ।

कुनै समयमा इन्डोनेसियाका तानाशाह मुहम्मद सुहार्तोका सेनाप्रमुख रहेका प्रबोवोले शान्तिबहालीका लागि आग्रह गरेका छन् र गाडीचालकको मृत्युप्रति समवेदना प्रकट गरेका छन् ।