ओलीले चिनियाँ राष्ट्रपतिसँग लिपुलेकबारे अडान लिएपछि भारतीय सञ्चारमाध्यमले गरे आलोचना

9.4k
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनपिङसँग शनिवार भएको भेटघाटमा लिपुलेकको विषय उठाएको समाचारलाई भारतीय सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

द हिन्दु पत्रिकाले बेइजिङस्थित नेपाली राजदूतावासबाट जारी विज्ञप्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेक पासको बाटो हुँदै भारत र चीनले व्यापार पुनः आरम्भ गर्ने सहमतिप्रति नेपालको कडा आपत्ति रहेको कुरा बताएको उल्लेख गरेको छ ।

त्यस्तै न्युज १८ ले शाङ्हाई कोअपरेशन अर्गनाइजेशन शिखर बैठकको पूर्वसन्ध्यामा चीनको थ्यानचिन शहरमा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीचको वार्तामा सन् १८१६ को सुगौली सन्धि बमोजिम महाकाली नदीभन्दा पूर्वका सबै भूभाग नेपालको भएको ओलीले स्पष्ट पारेको र चीनले भारतसँग त्यस भूभागमार्फत व्यापार गर्ने सहमति गर्नु आपत्तिजनक रहेको बताएको समाचार प्रकाशन गरेको छ ।

उता जीन्युजले थ्यानचिन स्टेट गेस्ट हाउसमा ओली र सीबीचको वार्तामा ओलीले लिपुलेक पास हुँदै भारत र चीन व्यापारनाका खोल्ने सहमतिमा नेपालको आपत्ति रहेको कुरा बताएको भनी परराष्ट्रसचिव अमृत बहादुर राईले दिएको बयानलाई समाचारमा उल्लेख गरेको छ ।

त्यस्तै फर्स्टपोस्टले प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता कायम गर्ने विषयमा चीनसँग सहकार्य हुने विश्वास राखेको भनी समाचार दिएको छ । चीन यस विषयमा मौन रहेको पनि उसले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा लिपुलेकको सन्दर्भ नउठाइएको फर्स्टपोस्ट लेख्छ ।

त्यस्तै ट्राइब्युन इन्डियाले लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत र चीनले त्यो पासको बाटो हुँदै सीमा व्यापार गर्ने सहमति गरेकोमा नेपालको कडा आपत्ति रहेको बताएको भनी समाचार प्रकाशन गरेको छ ।

उता नवभारत टाइम्सले लिपुलेकमार्फत सीमा व्यापार गर्न भारत र चीनले हालै गरेको सहमतिलाई उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यो क्षेत्र नेपालको भएको र नेपाल सरकारले द्विदेशीय सहमतिमा कडा आपत्ति उठाएको समाचार दिएको छ ।

नवभारत टाइम्समा प्रकाशित समाचारको हेडलाइन गैरकूटनीतिक किसिमको छ । त्यसको आशय छ : भारत र चीनको सम्बन्धमा नेपाललाई कसरी आपत्ति ? सी चिनपिङका अगाडि चिच्याए ओली, अलापे सम्प्रभुताको राग भनी अपमानजनक हेडलाइन प्रस्तुत गरिएको छ ।

त्यस्तै दैनिक जागरणले पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग जनाएको आपत्तिको समाचार बनाएको छ । उसको हेडलाइन पनि गैरकूटनीतिक छ । भारत र चीनको सम्बन्धमा किन चासो दिँदैछ नेपाल ? ओलीले चिनपिङसँग आपत्ति जनाउँदा पाएनन् कुनै भाउ भन्ने आशयमा हेडलाइन दिइएको छ ।

उता आजतकले पनि सीसँगको बैठकमा ओलीले लिपुलेक सीमा व्यापार सहमतिको विरोध गरेको समाचार दिएको छ । भारतले नेपालको दाबी सही नभएको भन्दै आएको पनि समाचारमा उल्लेख गरिएको छ ।