
काठमाडौं । लगानी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना अनुमतिपत्रको मस्यौंदा स्वीकृत गरेको छ ।
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको छैसट्ठिऔँ बैठकले उक्त मस्यौदा स्वीकृत गर्दै ६६९ मेगावाट क्षमताको परियोजनाको अनुमतिपत्र जारी गर्न बोर्डको प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले संखुवासभा जिल्लामा निर्माणाधिन अरुण -३ जलविद्युत परियोजनाको मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावको रुपमा प्राप्त अटो सर्भिस इको (इन्डष्ट्रियल पार्क) परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकबाट लगानी बोर्डको कार्यालयको लागि चालू आव २०८२/८३ का लागि विभिन्न सेवा,समूह तथा श्रेणीका विभिन्न पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने बिषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया