डिजिटल भुक्तानी बढ्दा पनि झन् बढ्दै नगदको प्रयोग, चलनचल्तीका नोट एक वर्षमै ७४ अर्बले बढ्यो

273
Shares

काठमाडौं । डिजिटल भुक्तानी बढ्दै जाँदा पनि बजारमा नगद कारोबार पनि बढ्दै गएको एक तथ्यांकले देखाएको छ । डिजिटल वित्तीय कारोबार तीव्र रुपमा विस्तार हुँदै जाँदा पनि पछिल्लो आर्थिक वर्षमा करेन्सी इन सर्कुलेसन (बजारमा चलनचल्तीमा रहेको नोट) भने बढ्दै गएको छ ।

२०८१ साउनमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ रहेको नगद सर्कुलेसन २०८२ साउनमा ७ खर्ब ४४ अर्ब ८३ करोड पुगेको छ । २०८२ असारको तुलनामा साउनमा नगद सर्कुलेसन केही घटे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा निरन्तर बढ्दै गएको छ ।

गत असारमा ७ खर्ब ५० अर्ब रुपैयाँ नगद सर्कुलेसन थियो । विशेषगरी दशैं र तिहार लगायतका चाडपर्वको समयमा नगद सर्कुलेसन केही बढ्ने र त्यसपछि क्रमशः घट्ने गरेको छ । दशैं र तिहारमा नयाँ नोट सटही हुँदा बढ्ने गरेको नगद सर्कुलेसन चाडपर्वपछि बैंकिङ प्रणालीमा उक्त नगद फिर्ता हुँदै जाँदा नगद सर्कुलेसन पछि घट्दै जाने गरेको छ ।

२०८१ असोजमा ७ खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँसम्म पुगेको नगद सर्कुलेसन २०८१ पुसमा ७ खर्ब १६ अर्ब रुपैयाँसम्म झरेको थियो । त्यसपछि पुनः यस्तो सर्कुलेसन बढ्न लागेको थियो । चाडपर्व अघि नै करिब साढे ७ खर्ब रहेको नगद सर्कुलेसन चाडपर्व पछि ८ खर्बभन्दा माथि पुग्ने अवस्था देखिन्छ ।