कोसोभो, अल्बेनिया र क्रोएसियाले अमेरिकासँग हतियार सम्झौता गर्ने, सर्बियाविरुद्ध युद्धको तयारी ?

833
Shares

एजेन्सी । युरोपेली मुलुकहरू कोसोभो, अल्बेनिया र क्रोएसियाले रक्षा क्षेत्रमा सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत मार्च १८ मा अल्बेनियाको राजधानी तिरानामा यी तीनै मुलुकका रक्षामन्त्रीहरूले रक्षा सहकार्यका विषयमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए । यसलाई कार्यान्वयन गर्नका लागि उनीहरूले ठोस कदम चालिरहेका छन् ।

सुरक्षा क्षेत्रमा अझ मजबुत र स्थिर गठबन्धन निर्माण गर्ने क्रममा उनीहरू अर्को चरणमा प्रवेश गरिरहेका छन् ।

तीनै देशका रक्षामन्त्रीहरूले अमेरिकासँग हतियार सम्झौता गर्ने भएका छन् ।

कोसोभोको रक्षा मन्त्रालयले यस्तो त्रिपक्षीय बैठक भइसकेको पुष्टि गरेको छ ।

सम्झौताको दायराभित्र त्रिपक्षीय गतिविधिहरूको खाका तयार गर्न संयुक्त बैठक भएको थियो । यसमा प्रत्येक देशको सेनाको आवश्यकता अनुसार संयुक्त खरिदको विषय पनि समेटिएको छ । एकपटक यो योजना पूरा भएपछि, थप प्रक्रियाका लागि तीनै देशले यसमा हस्ताक्षर गर्ने रक्षा मन्त्रालयकी प्रवक्ता लिरिडोना गासीले पुष्टि गरिन् ।

यस विषयमा कोसोभो सुरक्षा बलका पूर्वकमान्डर काद्री कास्त्रातीले यो सम्झौता प्रभावकारी रहेको बताएका छन् ।

तीन देशले एकैपटक हतियार खरिद गर्दा लागत निकै कम हुने, डेलिभरी सजिलो हुने र हतियार उत्पादक यस्तो खरिद आपूर्ति गर्न अझ आकर्षित हुने कास्त्रातीको भनाइ छ । नेटो र वाशिङटन दुवैको प्रतिबद्धता प्राप्त भएपछि हतियार उत्पादकहरू अझ छिटो, राम्रो र उत्साहित भएर हतियार आपूर्ति गर्न तयार हुने उनले बताए ।

अमेरिकासँगको साझेदारीको रणनीतिक महत्त्वलाई ध्यानमा राख्दै कोसोभो सुरक्षा बलका पूर्वकर्नेल अफ्रिम भेसेलीले अमेरिकासँगको सहकार्य सेनाको भविष्यका लागि महत्त्वपूर्ण रहेको बताए ।

कोसोभो सुरक्षाबलको क्षमता वृद्धि गर्ने क्रममा दुई हप्ताअघि अमेरिकी सेनाबाट खरिद गरिएका ५० वटा बख्तरबन्द गाडीहरूको दोस्रो खेप हस्तान्तरण स्वीकृति प्रक्रिया कोसोभोको राजधानी प्रिस्टिनास्थित अडेम जासारी ब्यारेकमा सम्पन्न भएको थियो ।

अमेरिकासँग यसरी क्रोएसिया, अल्बेनिया र कोसोभोले सम्झौता गरेपछि सर्बियाले असुरक्षित अनुभव गरेको छ । समान स्लाभ विरासत भएको मुलुक रुससँग सर्बियाको सम्बन्ध कायम रहेको छ र युक्रेन युद्धको आलोकमा अमेरिकाले यसमा चित्त बुझाएको छैन । सन् १९९० को दशकमा भएको बाल्कन द्वन्द्वपछि सर्बिया र कोसोभोबीच तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ । त्यसैले आफूविरुद्ध युद्धको तयारी गर्न लागिएको हो कि भनी सर्बिया झस्किएको हो ।