
एजेन्सी । भारतको बिहार राज्यको प्रहरीले नेपालको बाटो हुँदै तीनजना पाकिस्तानी आतंकवादीहरू बिहारमा पसेको दाबी गर्दै उच्च अलर्ट जारी गरेको छ ।
बिहार प्रहरीले जैश–ए–मोहम्मद नामक प्रतिबन्धित संगठनका तीन आतंकवादीको स्केच पनि जारी गरेको छ ।
रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहवलपुरका मोहम्मद उस्मान नेपालको बाटो भएर भारत पसेको बताइएको छ ।

उनीहरू १५ दिनअघि काठमाडौं आइपुगेको र गत साता बिहार छिरेको बिहार प्रहरीको भनाइ छ ।
ती आतंकवादीहरूको राहदानी विवरण प्रहरीले सीमावर्ती जिल्लाका अधिकारीहरूसँग साझा गरेका छन् ।
बिहारमा विधानसभा निर्वाचन आउन लागेको सन्दर्भमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार पुगेर आतंकवादीहरूलाई सखाप पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले बिहारमा नै सैन्य कारवाहीको प्रतिबद्धता व्यक्त गरेका थिए जसलाई पछि अपरेशन सिन्दूर नाम दिइएको थियो ।
पहलगाम आक्रमणमा संलग्न आतंकवादीहरू पाकिस्तान सरकारकै आश्रयमा रहेको आरोप लगाएर भारतीय सेनाले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो । भारतीय आक्रमणमा १०० भन्दा बढी आतंकवादीहरूको मृत्यु भएको थियो ।







प्रतिक्रिया