
एजेन्सी । भारतको मुम्बईस्थित विरारमा चारतल्ले भवन भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
बुधवार अबेर राति भएको घटनामा जन्मदिन मनाइरहेकी १ वर्षीया बालिकाको पनि देहान्त भएको छ ।
घटनामा ९ अन्य व्यक्ति घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, १३ वर्षअघि बनेको भवनको चौथो तल्लामा जन्मदिनको पार्टी चलिरहेको बेलामा मध्यरात भएपछि एकातर्फका १२ वटा फ्ल्याटहरू भत्केका थिए । ती फ्ल्याटहरू नजिकैको बस्तीमा ठोकिन पुगेका थिए । भवनका कैयौं निवासी र पाहुनाहरू भग्नावशेषमा पुरिएका थिए ।
नेशनल डिजास्टर रेस्पोन्स फोर्सका कर्मचारीहरूले रातभरि उद्धारकार्य जारी राखेका थिए । उनीहरूले भग्नावशेषबाट जीवित रहेका व्यक्तिका साथै लाशहरू पनि निकालेका थिए ।
उक्त भवनमा ५० भन्दा बढी परिवार बस्दछन् । अधिकारीहरूका अनुसार, त्यो सुरक्षा स्वीकृति नलिएको अवैध भवन हो ।
मुम्बईमा असुरक्षित भवनहरूले जिउज्यान जोखिममा पार्ने गरेको भनी चेतावनी जारी हुँदै आएका छन् । तर, सामान्य परिवारका मानिस सुरक्षित विकल्पको अभावमा यस्ता भवनमा बस्ने गरेका छन् ।







प्रतिक्रिया