
एजेन्सी । चीनले क्विचाउ प्रान्तमा संसारको सबभन्दा अग्लो पुल सञ्चालन गर्न लागेको छ ।
दक्षिणपश्चिम चीनमा रहेको ह्वाच्याङ ग्रान्ड क्यान्योन ब्रिजले दुर्गम क्षेत्रहरूलाई सम्पर्क सञ्जालमा ल्याउनेछ ।
बेपान नदीको खोंचमा बनेको पुल कुल २८ सय ९० मिटर लामो छ । यसको सेन्ट्रल स्पान १४ सय २० मिटर छ । पानीभन्दा ६२५ मिटर माथि रहेको पुल संसारकै सबभन्दा अग्लो हुनेछ ।
पुल भएको क्षेत्रमा चुनढुंगाका भीरहरू छन् । परापूर्व कालमा ट्रायासिक समुद्रबाट बनेको यो भीरमा मानिसले हिँड्न लगभग असम्भव थियो ।
सोमवार पुलमा भार परीक्षण गरिएको थियो । कुल ३३ सय टन भएका ९६ वटा भारी ट्रकहरू त्यस पुलबाट पार भएका थिए ।
चार सयभन्दा सेन्सरले पुलको निगरानी गरेका थिए । उनीहरूले प्रमुद स्पान, टावर, केबल र सस्पेन्डरहरूमा ट्रकका गतिविधिको निरीक्षण गरेका थिए ।
पाँच दिनसम्म लगातार परीक्षण गर्दा पुलले सुरक्षाका सबै मापदण्ड पूरा गरेको थियो ।
सेप्टेम्बर महिनाको अन्त्यतिरबाट पुलमा यातायात चल्न थाल्नेछन् ।
यो पुल इन्जिनियरिङको उम्दा नमूना भएको क्विचाउ ट्रान्सपोर्टेशन इन्भेस्टमेन्ट ग्रुप कम्पनीका वु चाओमिङले बताए ।
पुलका कारण पहिला दुई घन्टा लाग्ने बाटो दुई मिनेटमै पार गर्न सकिने भएको छ । यसले क्विचाउको भित्री भागमा यातायात आधुनिकीकरणमा योगदान गर्नेछ ।
क्विचाउ समथर इलाका नभएको चीनको एक मात्र प्रान्त हो । त्यहाँ पुल र सुरुङहरू प्रशस्त छन् ।
त्यस प्रान्तमा ३० हजारभन्दा पुलहरू छन् ।
संसारभरि रहेका १०० वटा सबभन्दा अग्ला पुलमध्ये आधाजसो क्विचाउमा छन् । त्यहाँ कुल ५४ सय किलोमिटर पुलहरू रहेका छन् ।







प्रतिक्रिया