चीनमा अर्को साता हुने परेडमा पुटिन र किम जोङ उन उपस्थित हुने, अमेरिका सतर्क

448
Shares

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीनको विशाल सैन्य परेडमा सहभागी हुने चीनको विदेश मन्त्रालयले बिहीवार घोषणा गरेको छ ।

भदौ १८ अर्थात् सेप्टेम्बर ३ मा बेइजिङको थ्यानआनमेन स्क्वेरमा हुने यो परेड दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्षको अवसरमा चीनले गर्ने स्मरण कार्यक्रमको हिस्सा हो ।

चिनियाँ विदेश मन्त्रालयको यस घोषणाले पुटिन र किमलाई राष्ट्रपति सी जिनपिङको प्रमुख पाहुनाको सूचीमा राखेको छ । यो अमेरिकाविरोधी तीन नेताहरूबीचको एकताको प्रदर्शन गर्ने अवसर बनेको छ । बेइजिङको “गेट अफ हेभेनली पिस” मा तीनजना नेता सँगै उभिएको असाधारण तस्बिर देखिने भएको छ ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले पनि किमको उपस्थितिलाई पुष्टि गरेको छ । यो सन् २०१९ पछि किमको पहिलो चीन भ्रमण हुनेछ । सन् २०११ मा सत्तामा आएदेखि उनले जम्मा १० पटक मात्र विदेश भ्रमण गरेका छन् । उनी अन्तिमपटक सन् २०२३ मा रूसको सुदूरपूर्वमा रहेको अन्तरिक्ष केन्द्रमा पुटिनलाई भेट्न गएका थिए ।

चीनले आयोजना गर्ने परेडले संसारकै सबैभन्दा बढी प्रतिबन्धमा परेको राष्ट्र उत्तर कोरियाका राष्ट्रपति किमलाई अन्य नेतासँगै देखिने दुर्लभ अवसर दिनेछ । यी नेताहरू सी र पुटिनले बनाइरहेको वैकल्पिक विश्व व्यवस्थातर्फ आकर्षित भइरहेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसै वर्ष किमसँग भेट गर्न चाहेको बताएको केही दिनमै किम चिनियाँ कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

ट्रम्पले अमेरिकाका साझेदारहरूसँगको गठबन्धनमा उलटफेर गरिरहेको र भूराजनीतिक अनिश्चितता बढेको समयमा चीनले आफ्नो सैन्यशक्ति प्रदर्शन गर्न लागेको हो । यो परेड चीनले ताइवान र छिमेकी मुलुकहरूसँगको सीमा विवादमा देखाइरहेको आक्रामक भूमिकाको बीचमा हुन लागेकाले त्यसको सन्देश बलियो हुनेछ ।

चीनका विदेश राज्यमन्त्री हङ लेईका अनुसार, कुल २६ जना विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुनेछन् । समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । सहभागीहरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ पनि परेका छन् ।

तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी हुने सूचीमा छैनन् । उनी सोही हप्ता चीनको थ्यान्चिनमा शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

म्यान्मारका सेनाप्रमुख मिन आङ ह्लाइङ पनि सहभागी हुनेछन् ।

अन्य पाहुनामा सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिच र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको रहेका छन् । यी दुवै रुससँग मित्रवत् मानिन्छन् ।

पश्चिमी मुलुकका प्रमुख नेताहरू भने अनुपस्थित रहनेछन् जबकि चीन दोस्रो विश्वयुद्धको प्रशान्त मोर्चामा सहयोगी शक्तिहरूको महत्त्वपूर्ण साझेदार थियो।

आगामी बुधवार हुने ७० मिनेट लामो परेडमा १० हजारभन्दा बढी सैनिक, १०० भन्दा बढी विमान र सयौं सैन्य उपकरण प्रदर्शन गरिनेछ । राष्ट्रपति सी जिनपिङले पिपुल्स लिबरेसन आर्मीलाई आधुनिक बनाउने अभियानअन्तर्गत चीनको बढ्दो सैन्य क्षमताको प्रदर्शन हुनेछ ।

यस क्रममा अत्याधुनिक ड्रोन, इलेक्ट्रोनिक जामिङ प्रणाली, हाइपरसोनिक हतियार, हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणालीदेखि रणनीतिक मिसाइलसम्मका नयाँ उपकरण देखाइनेछन् । सबै उपकरण चीनमै बनेका र अहिले प्रयोगमा रहेका बताइएको छ ।

चीन दशकौंदेखि उत्तर कोरियाको प्रमुख राजनीतिक तथा आर्थिक सहयोगी रहँदै आएको छ । दुवै देशबीच सन् १९६१ मा सुरक्षा सन्धि भएको थियो ।

हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीचको सम्बन्ध अझ नजिकिएको छ । उत्तर कोरियाले युक्रेन युद्धमा सैनिक पठाएको थियो । गत वर्ष प्योङयाङमा पुटिन र किमले नयाँ सुरक्षा सन्धि गर्दै आफ्नो देशमा आक्रमण भए तत्कालै एकअर्कालाई सैन्य सहयोग गर्ने वाचा गरेका थिए । यसले अमेरिका र एसियाली सहयोगीहरूलाई चिन्तित बनाएको छ ।

चीनका सहायक विदेशमन्त्री हङले उत्तर कोरिया र चीनबीचको “परम्परागत मित्रता” लाई स्मरण गर्दै भने, “चीन उत्तर कोरियासँग हातेमालो गर्दै समाजवादी निर्माणलाई अघि बढाउन, क्षेत्रीय शान्ति र स्थायित्वलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षतालाई जोगाउनका लागि मिलेर काम गर्न इच्छुक छ ।”