
एजेन्सी । भारतको जम्मुमा रहेको त्रिकुटा पर्वतस्थित वैष्णो देवी मन्दिर जाने बाटोमा अविरल वर्षाका कारण आएको पहिरोमा परेर कम्तीमा ३० जना मारिएका छन् ।
कटरा बजारबाट मन्दिरतर्फ जाने १२ किलोमिटर घुमाउरो बाटोको बीच भागतिर अधकुँवारी नजिकै पहिरो गएको थियो ।
लगातार भइरहेको वर्षाका कारण अधकुँवारीस्थित इन्द्रप्रस्थ भोजनालय नजिक रहेको हिमकोटी मार्गमा रहेको फलामे विश्रामस्थलमुनि आश्रय लिएका तीर्थयात्रुहरू पहिरोमा परी बितेका हुन् ।
घटनास्थलमा उद्धारकार्य जारी छ । अधिकारीहरूका अनुसार, अहिले भग्नावशेष हटाइँदैछ र पहिरोमुनि फँसेका हुन सक्ने व्यक्तिहरूको खोजी भइरहेको छ ।
मंगलवार बिहानैदेखि हिमकोटी मार्गमा यात्रा स्थगित गरिएको थियो । स्रोतहरूले बताएअनुसार, पीडितहरू वर्षाका कारण फलामे विश्रामस्थलमुनि बसेका थिए । घटनापछि वैष्णो देवी मन्दिर बोर्डले पुरानो परम्परागत मार्गमा पनि अर्को आदेश नआएसम्म यात्रा रोक्ने निर्णय गरेको छ ।
बुधवार जम्मु शहर र आसपासका क्षेत्रमा वर्षा रोकिँदा मौसममा सुधारको संकेत देखिएको छ ।
तर, अविरल वर्षाका कारण रातिदेखि जम्मुमा विद्युत् आपूर्ति व्यापक रूपमा अवरुद्ध भएको छ । धेरै क्षेत्र अन्धकारमा परेका छन् । मोबाइल सञ्जाल पनि धेरै ठाउँमा बिग्रिएपछि राहत कार्यमा थप कठिनाइ भएको छ ।
रावी र चेनाब नदीमा पानीको सतह घट्न थाले पनि अधिकारीहरूले सतर्कता अपनाइरहेका छन् । प्रशासनले मानिसहरूलाई नदी र जलाशयहरू नजिक नजान आग्रह गरिरहेको छ ।








प्रतिक्रिया