युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रका दुई गाउँमा रुसको नियन्त्रण, जेलेन्स्कीमाथि चर्को दबाब

273
Shares

एजेन्सी । रुसले युक्रेनको दक्षिणपूर्वी निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेका दुईवटा गाउँमा कब्जा गरेको युक्रेनले पुष्टि गरेको छ ।

शान्ति प्रक्रिया ठप्प भइरहेका बेला रुसी सैनिकहरूले आक्रमणलाई अझै तीव्र बनाइरहेका छन् ।

सैनिकहरूको संख्या घटिरहेको र हतियारको पनि अभाव रहेको युक्रेनी सेना देशको पूर्वी भागमा रूसबाट लगातार भइरहेका आक्रमणलाई रोक्न संघर्षरत छ । मस्कोले शान्ति वार्तामा युक्रेनलाई भूभागमाथिको नियन्त्रण छाड्न दबाब दिइरहेको छ ।

डिपस्टेट नामक युद्धस्थलको निगरानी गर्ने समूहका अनुसार, रुसी फौजहरूले अहिले जापोरिज्के र नोभोहेओर्हिइभ्का गाउँ कब्जा गरेका छन् । मस्कोको रक्षा मन्त्रालयले यसअघि नै दुवै गाउँ कब्जा गरेको दाबी गरेको थियो ।

रूसीहरू जापोरिज्के र नोभोहेओर्हिइभ्कामा भित्रिएको र त्यहाँ आफ्नो पकड जमाउन खोजिरहेको युक्रेनी सेनाका प्रवक्ता भिक्टर ट्रेगुबोभले रोयटर्सलाई बताए । युक्रेनी फौजहरूले उनीहरूलाई थप अघि बढ्नबाट रोकेको उनले दाबी गरे ।

रुसी सेनाले यसअघि जुलाईमा निप्रोपेत्रोभ्स्कमा पहिलो गाउँ कब्जा गरेको दाबी गरेको थियो । यो क्षेत्र भने रुसले आफ्नो भूभागको रूपमा दाबी गरेका पाँच क्षेत्रमध्ये पर्दैन ।

डिपस्टेटको नक्साले निप्रोपेत्रोभ्स्कका कम्तीमा दुई अन्य गाउँ पनि कब्जा वा युद्ध भइरहेको क्षेत्रको रूपमा देखाएको छ । तर, यी गाउँहरू ३१ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको विशाल प्रदेशका सन्दर्भमा निकै साना छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो प्रगति महत्त्वपूर्ण नभएको दाबी गरेका छन् । तर, रुस लगातार अघि बढ्दै जाँदा युक्रेनले थप भूभाग गुमाउनुपर्ने जोखिम बढेको छ । शान्तिवार्ता गर्नका लागि दबाब खेपिरहेका जेलेन्स्कीलाई युक्रेनी भूभागमाथिको सम्झौता गर्नुपर्ने स्थितिले तनाव दिइरहेको छ ।