
एजेन्सी । अमेरिकी वायुसेनाको एफ–३५ लडाकु विमानका पाइलटले आफ्नो जेटमा देखिएको समस्या समाधान गर्न निर्माता कम्पनी लकहिड मार्टिनका इन्जिनियरहरूसँग ५० मिनेटसम्म उडानमै फोनवार्ता गरेको खुलासा भएको छ ।
इन्जिनियरहरूले समस्याको समाधान सुझाउन नसकेपछि पाइलटले इजेक्सन गर्नुपरेको थियो ।
गत जनवरी २८ मा यो दुर्घटना भएको थियो । जमिनमा खसेर विस्फोट भएको विमानको भिडियो भाइरल भएको थियो ।
दुर्घटनाको प्रतिवेदन यही हप्ता प्रकाशित भएको हो ।
फेयरब्यांक्सस्थित एइल्सन वायुसेना अड्डामा भएको दुर्घटना भिडियोमा कैद भएको थियो । त्यसमा विमान सीधै तल झरेर आगोको गोला बनेको देखिन्छ । पाइलट भने सकुशल इजेक्सन गरेर बाँच्न सफल भए । उनलाई सानो चोटपटक मात्र लाग्यो । तर, २० करोड डलर मूल्यको विमान पूर्ण रूपमा नष्ट भयो ।
वायुसेनाले यस बारेमा गरेको छानबिनले एफ–३५ को अग्रभाग र मुख्य ल्यान्डिङ गियरका हाइड्रोलिक लाइनमा बरफ जमेकै कारण गियरहरू ठीकसँग नझर्दा दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, उडान भइसकेपछि पाइलटले ल्यान्डिङ गियर भित्र्याउन खोज्दा पूरा नभएको र फेरि ओराल्दा बायाँपट्टि ढल्किएको अवस्थामा लक भएको थियो । समस्या समाधान गर्ने क्रममा विमानले आफू जमिनमै रहेको भन्ने संकेत पायो । त्यसले अन्ततः दुर्घटना निम्त्यायो ।
समस्या समाधान गर्ने प्रयासमा पाइलटले चेकलिस्ट पूरा गरेपछि विमान उडिरहेका बेला नै लकहिड मार्टिनका इन्जिनियरसँग फोनमा कुरा गरे । त्यसमा पाँचजना इन्जिनियर सहभागी थिए, जसमध्ये एक वरिष्ठ सफ्टवेयर इन्जिनियर, एक फ्लाइट सेफ्टी इन्जिनियर र ल्यान्डिङ गियर प्रणालीमा विज्ञ तीनजना थिए ।
त्यसपछि पाइलटले नाकको गियर सीधा होस् भनेर ‘टच एन्ड गो’ अवतरण (क्षणिक अवतरण गरेर पुनः उड्ने) दुईपटक प्रयास गरेका थिए । तर, दुवै प्रयास असफल भए र त्यसले बायाँ र दायाँ मुख्य ल्याण्डिङ गियर पनि जमेर पूरै नओर्लन सक्ने स्थिति बनायो ।
त्यसपछि एफ–३५ का सेन्सरहरूले विमान जमिनमै रहेको देखायो र कम्प्युटर प्रणाली ‘ग्राउन्ड अपरेशन मोड’ मा प्रवेश गर्यो ।
यसले गर्दा विमान “नियन्त्रण बाहिर” बन्यो किनकि यो आकाशमा उडिरहेका बेला पनि जमिनमा भएको जस्तो सञ्चालन भइरहेको थियो । त्यसैले पाइलटले इजेक्सन गर्न बाध्य भए ।
ध्वस्त भएको विमानको छानबिन गर्दा नाक र दायाँ ल्यान्डिङ गियरका हाइड्रोलिक प्रणालीमा झन्डै एकतिहाई पानी भेटिएको थियो जबकि त्यहाँ पानी हुनुहुँदैनथ्यो ।
दुर्घटनापछि नौ दिनमै त्यही आधारमा अर्को एफ–३५ मा पनि यस्तै समस्या देखिएको थियो, तर त्यो विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भएको प्रतिवेदनमा जनाइएको छ ।
वायुसेनाको दुर्घटना छानबिन बोर्डले भन्यो, “उडानमै गरिएको वार्तासहित चालक दलको निर्णय, हानिकारक पदार्थ कार्यक्रमप्रति अपर्याप्त निगरानी (हाइड्रोलिक तरलको भण्डारण तथा वितरण), र हाइड्रोलिक मर्मत प्रक्रियालाई सही ढंगले नअपनाउनु यी सबैले दुर्घटनामा योगदान पुर्याएको हो ।”








प्रतिक्रिया