ग्रीन कार्ड भिसा प्रणालीमा परिवर्तन, चिट्ठा जितेर नभई क्षमता देखाएर मात्र अमेरिका जान पाइने

6.7k
Shares

एजेन्सी । अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले एच–१बी भिसा र ग्रीनकार्ड प्रणालीमा व्यापक परिवर्तनको योजना बनाएको छ ।

अब चिट्ठामा आधारित आप्रवासन भन्दा पनि क्षमतामा आधारित छनोट प्रणालीलाई प्राथमिकता दिइनेछ ।

वाणिज्यमन्त्री हावर्ड लुटनिकले प्रस्तावित सुधार प्रक्रियामा आफू संलग्न रहेको बताए । उनका अनुसार, अहिलेको चिट्ठामा आधारित प्रणालीको साटो क्षमतावान व्यक्तिलाई छान्ने मोडल अपनाइने उनको भनाइ छ ।

‘हामी ग्रीन कार्डमा परिवर्तन ल्याउन खोज्दैछौं । हामीले दिएको ग्रीन कार्ड लिने व्यक्तिले वर्षको ६६ हजार डलर कमाउने गरेको छ भने औसत अमेरिकीले वर्षको ७५ हजार डलर कमाउँछ । हामी किन विदेशीलाई यसरी पोसिरहेका छौं ?’ लुटनिकले फक्स न्युजसँग कुराकानीका क्रममा भने ।

‘त्यसैले डोनल्ड ट्रम्प यसमा परिवर्तन गर्न खोज्दैछन । हामी गोल्ड कार्ड ल्याउँदैछौं । त्यसमार्फत हामी उत्कृष्ट व्यक्तिहरूलाई छान्छौं । अहिले त्यसको आवश्यकता छ,’ उनले थपे ।

अहिलेको एच–१बी प्रणाली विदेशीहरूलाई अमेरिकाको श्रम बजार कब्जा गर्न दिने ठग प्रणाली भएको लुटनिकले बताए । अमेरिकाका सबै महान् कम्पनीहरूले अमेरिकी कामदार नियुक्त गर्नुपर्ने उनको भनाइ छ ।

एच–१बी चिट्ठा प्रणालीलाई पूरै खारेज गरेर तलबमा आधारित भिसा दिइनेछ । धेरै तलब खाने निवेदकहरूलाई भिसा दिन प्राथमिकता दिइनेछ ।

यस सम्बन्धी नयाँ नियमको मस्यौदालाई अमेरिकाका सूचना तथा नियमन मामिला कार्यालयले अनुमोदन गरिसकेको छ ।
अहिलेको ग्रीन कार्ड प्रक्रियाको विकल्पमा गोल्ड कार्ड ल्याइएको छ । त्यसले उच्च क्षमतावान र राम्रो कमाइ गरिरहेका व्यक्तिलाई प्राथमिकता दिन्छ ।

यस कदमले भारतीयहरूलाई बढी असर पर्ने बताइएको छ । अमेरिकाको आप्रवासन तथ्यांक अनुसार, वार्षिक रूपमा एच–१बी पाउने विदेशीमध्ये ७० प्रतिशत भारतीय नै छन् ।

नेपालीहरूले पनि एच–१बी भिसा पाउने गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार, सन् २०२४ मा ७८१ जना नेपालीलाई एच–१बी भिसा दिइएको थियो । सन् २०२३ मा ११ सय ३५ र सन् २०२२ मा ९०५ जना नेपालीले यो सुविधा पाएका थिए ।

ट्रम्पले डाइभर्सिटी भिसा अर्थात् डीभीलाई पनि खारेज गर्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।