यस्तो छ नेप्सेको अन्तिम १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधि

329
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको भारित औसत कारोबार मूल्यलाई ‘क्लोजिङ प्राइस’को रुपमा गणना गर्ने व्यवस्था २०८१ चैत ७ गतेदेखि लागू गर्यो ।

२०८१ चैत ५ मा बसेको नेप्से सञ्चालक समितिको बैठकबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई लागू गरेसँगै औसत कारोबार मूल्यलाई ‘क्लोजिङ प्राइस’को रुपमा गणना गर्न थालियो ।

त्यसअनुसार नियमित कारोबार सत्रमा २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने कार्य हुँदै आएको छ । तर, अन्तिम १५ मिनेटमा कायम मूल्यको भारित औसत मूल्य नमिल्ने गरेको गुनासो बेलाबेला लगानीकर्ताहरुबाट उठिरहेको छ ।

नेप्सेका अनुसार अन्तिम १५ मिनेटको औसत मूल्य निर्धारण गर्दा कारोबार भएको सेयरको मूल्य मात्र नभई त्यस मूल्यमा कति कित्ता सेयर खरिद–बिक्री भयो भन्ने कुरालाई समेत समेटिन्छ ।

साधारणतया, कुनै सेयरले दिनभरिमा विभिन्न मूल्यमा कारोबार गर्छ । उदाहरणका लागि, अन्तिम १५ मिनेटमा कुनै सेयर ४९० रुपैयाँमा एक हजार कित्ता, ४९५ रुपैयाँमा दुई सय कित्ता, ५०० रुपैयाँमा दश कित्ता र ५०५ रुपैयाँमा दश कित्ता कारोबार भएको को मानौं । यदि यी सबै मूल्यलाई समान तबरले जोडेर औसत निकालियो भने साधारण औसत ४९७.५ आउँछ ।

तर, यसरी मापन गर्दा बजारको यथार्थ चित्र आउँदैन, किनभने ४९० रुपैयाँमा धेरै कारोबार भयो भने ५०५ मा थोरै मात्र कारोबार भएको थियो । त्यसैले नेप्सेले साधारण औसत नअपनाई, कारोबार संख्याका आधारमा भारित औसत प्रयोग गर्ने गर्दछ ।

यसरी सूचक निर्धारण गर्दा, माथिको उदाहरणमा ४९० मा एक हजार कित्ता कारोबार भएको तथ्यलाई बढी महत्व दिइन्छ भने ५०५ मा भएको १० कित्ता कारोबारलाई कम महत्व दिइन्छ । यी सबैलाई कारोबार संख्यासहित गणना गर्दा निस्कने औसत मूल्य ४९१.०२ हुन्छ । यही मूल्यलाई अन्तिम १५ मिनेटको औसत मूल्य अर्थात् क्लोजिङ प्राइस मानिन्छ ।

नेप्सेले यस्तो प्रणाली अपनाउनुको प्रमुख कारण बजारलाई पारदर्शी बनाउन रहेको उल्लेख गरेको छ । यदि अन्तिम समयमा थोरै मात्र सेयर महँगो वा सस्तोमा किनबेच गरेर मूल्यमा हेरफेर गर्न सजिलो हुन्थ्यो भने बजारको वास्तविक स्थिति प्रष्ट देखिँदैनथ्यो ।

तर, कारोबार भएको संख्यालाई आधार बनाएर औसत निकाल्दा यस्तो हेरफेर रोक्न सकिने नेप्सेको तर्क छ ।

यसरी, नेप्सेको अन्तिम १५ मिनेटको औसत मूल्य निर्धारण साधारण जोडघटाउ नभई, कारोबार भएका सबै मूल्य र संख्यालाई ध्यानमा राखी भारित औसत निकाली गर्ने प्रक्रिया हो, जसले बजारलाई निष्पक्ष र विश्वसनीय देखाउने बताइएको छ ।