
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको सम्बन्धमा दबाब र संयम दुवै कायम राख्ने संकेत दिएका छन् ।
सोमवार ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “उनीहरूसँग केही पत्ताहरू छन् । हामीसँग पनि अद्भुत पत्ता छ । तर म ती पत्ताहरू खेल्न चाहन्नँ । मैले खेलें भने चीनको अर्थतन्त्र धराशायी हुनेछ ।”
ट्रम्पले हालै चीनका राष्ट्रपति सी चिनपिङसँग कुरा भएको र भविष्यमा बेइजिङ भ्रमण गर्ने सम्भावना रहेको पनि बताए । उनले भने, “सम्भवतः यो वर्ष वा अर्को वर्ष म चीन जान्छु ।”
अमेरिकी र चिनियाँ अधिकारीबीच अगस्ट १२ मा भएको व्यापारयुद्ध स्थगनको समय बढाउने निर्णयपछि ट्रम्पका यी टिप्पणीहरू आएका हुन् । ९० दिनको स्थगनले दुई देशबीच जारी विवाद समाधान गर्न प्रतिनिधिहरूलाई थप समय दिने लक्ष्य राखेको छ ।
अमेरिकाले अप्रिल महिनादेखि चिनियाँ वस्तुको आयातमाथि भन्सार बढाउँदै आएको छ । एक समयमा आयातकर १४५ प्रतिशत पुगेको थियो । हाल अधिकांश चिनियाँ सामानमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । त्यसको जवाफमा चीनले अमेरिकी सामानमा १० प्रतिशत शुल्क लगाएको छ ।
ट्रम्पले चीनको रेयर अर्थ्स नीति र तेल व्यापारलाई पनि चुनौतीको रूपमा औंल्याए । चीनले आवश्यक चुम्बक आपूर्ति बन्द गरे अमेरिकाले चीनमाथि २०० प्रतिशत भन्सार लगाउन सक्ने उनले चेतावनी दिए ।
अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले चीनको तेल आयातलाई अस्थिरता बढाउने मुख्य विवादको रूपमा औंल्याएका छन् ।
ट्रम्पले कार्यकारी आदेशमार्फत भन्सार शुल्क स्थगन र व्यापार नीतिमा सुधारको प्रक्रिया जारी राख्ने बताए । “हामी चीनसँग उत्कृष्ट सम्बन्ध राख्नेछौं तर आवश्यक परे दबाब कायम राख्नेछौं,” उनले भने ।
विशेषज्ञका अनुसार ट्रम्पको टिप्पणीले चीनसँगको व्यापारिक सम्बन्धमा अमेरिका दबाब र रणनीतिक संयम दुवै अपनाउने रणनीति राखेको देखाउँछ। एकातिर भन्सार बढाउँदै चुनौती दिइरहेको छ भने अर्कोतिर अमेरिका–चीन सम्बन्धलाई लामो समयसम्म सकारात्मक राख्ने प्रयास जारी छ।










प्रतिक्रिया