
काठमाडौं । नेपाली वा विदेशी नागरिकले साथमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर नेपाल आउँदा भन्सार घोषणा गर्नु नपर्ने स्पष्ट नेपाल राष्ट्र बैंकले पारेको छ । साथमा ५ हजार डलरमात्र बोकेर नेपाल आउन पाउने केन्द्रीय बैंकले जानकारी गराएको छ । भारतीय मुद्राको हकमा पनि ५ हजार अमेरिकी डलरले हुने मात्रै नगद रुपमा भन्सार घोषणाबिना नेपाल भित्राउन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।
पछिल्लो समय भारतीय नागरिकले सिमावर्ती क्षेत्रका होटलमा विवाह लगायतका विभिन्न पार्टीहरुमा रकम भुक्तानीका लागि भारतीय मुद्रा नगदमा ल्याउन समस्या भएको भन्दै उक्त व्यवस्थामा सहजीकरण गर्न माग हुँदै आएको छ ।
राष्ट्र बैंकले भन्सार घोषणा नगरी ५ हजार डलरसम्म तथा भन्सार घोषण गरेर ५ हजार डलरभन्दा माथिको विदेशी मुद्रा नगद नेपाल भित्र्याउन सक्ने जनाएको हो ।
५ हजार अमेरिकी डलरभन्दा बढीको नगद विदेशी मुद्रा भित्र्याउनु परेमा भने भन्सार घोषणा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । ‘नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र दफा १२ का व्यवस्थाहरु, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २९क. को व्यवस्था र २०७५ पुस २३ गरेको नेपाल राजपत्रको सूचना समेतको आधारमा उक्त व्यवस्था गरिएको छ,’ नेपाल राष्ट्र बैकले मंगलबार एक सूचना प्रकाशित गर्दै भनेको छ ।
५ हजारभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था २०७५ चैत २६ गते प्रकाशित भएको सूचना अनुसार हुनेछ । २३ पुस २०७५ मा राजपत्रमा प्रकाशित सूचना अनुसार कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न तथा भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न पाउँदैनन् । नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने मंगलबार प्रकाशित सूचनामा उल्लेख छ ।









प्रतिक्रिया