
काठमाडौं । सोमबार एकै दिन नेपाल पुनर्बिमा कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा त्यसको १३.३८ प्रतिशत कारोबार नेपाल पुनर्बिमा कम्पनीकै भएको छ ।
गत असार अन्तिममा करिब साढे १२०० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य साउनमा उच्च वृद्धि भएको थियो । असार ३२ देखि साउन १८ गतेसम्म कम्पनीको सेयर मूल्य मात्रै बढेन, कारोबार रकम पनि उच्च देखिएको थियो ।
उक्त अवधिमा ५५ नम्बर ब्रोकरमार्फत लगानीकर्ताले ठूलो मात्रामा सेयर खरिद गरेको देखिन्छ । त्यसपछि सुस्त देखिएको कम्पनीको सेयर कारोबार सोमबार एकाएक बढेको छ । विगतमा ठूलो संख्यामा सेयर खरिद भएको देखिएको ५५ नम्बरको ब्रोकरका साथै ४९ नम्बरको ब्रोकरमार्फत पनि कम्पनीको सेयर सोमबार ठूलो संख्यामा बिक्री भएको छ ।
सोमबार कम्पनीको सेयर कारोबार एक्कासि उच्च मात्रामा बढेको हो । आज कम्पनीको ७६ करोड बढीको कारोबार हुँदै गर्दा पनि मूल्य ५.२५ प्रतिशतले बढेर १६४९.९० रुपैयाँ पुगेको छ । सोमबार कम्पनीको कुल ४ लाख ७५ हजार ८७१ कित्ता सेयर कारोबार भएकोमा ५५ नम्बर ब्रोकरमार्फत नै ८० हजार ११८ कित्ता सेयर बिक्री भएको देखिन्छ ।
४९ नम्बर ब्रोकरबाट पनि ४५ हजार २९१ कित्ता सेयर बिक्री भएको छ । जबकी ५५ नम्बर ब्रोकरबाट कम्पनीको करिब २ हजार कित्ता मात्रै सेयर खरिद हुँदा ४ हजार कित्ता मात्रै सेयर खरिद भएको छ ।
यता सेयर खरिद हुनेमा भने कुनै एक ब्रोकरबाट उच्च कारोबार भएको देखिँदैन । कम्पनीको धेरै सेयर २८ नम्बर ब्रोकरबाट ४३ हजार कित्ता सेयर खरिद भएको देखिन्छ ।
नेपाल पुनर्बिमाको आइतबार २४ करोड, गत साताको बिहीबार २० करोड र बुधबार २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । करिब ५ अर्बको सेयर कारोबार हुँदा कम्पनीको २० देखि २५ करोडको सेयर कारोबार भइरहेको ट्रेन्ड देखिन्छ ।
तर, सोमबार भने अघिल्लो दिनहरुको औसतमै नेप्सेमा कुल कारोबार रकम भएपनि कम्पनीको कारोबार रकम भने ३ गुणाभन्दा धेरैले बढेको छ ।
यसले आम लगानीकर्तामो पुनर्बिमा कम्पनीको सेयर कारोबार एक्कासी किन बढ्यो ? भन्ने जिज्ञासा समेत बढाएको देखिन्छ ।
नेप्सेमा कम्पनीको १३ करोड ४२ लाख २१ हजार कित्ता सेयर सूचीकृत छ । जसमध्येको १६ प्रतिशत अर्थात् २ करोड १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ८४ प्रतिशत अर्थात् ११ करोड २७ लाख ४६ हजार कित्ता सेयर संस्थापकको स्वामित्वमा छ ।










प्रतिक्रिया