प्रि–आईपीओको नाममा सेयर बिक्री गर्ने कार्य नगर्नुः धितोपत्र बोर्ड


काठमाडौं । नेपाल धितोपत्र बोर्डले (सबोन)ले प्रि–आईपीओको नाम दिएर सामाजिक सञ्जालमार्फत् सर्वसाधारणलाई सेयर बिक्री गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै सेबोनले सार्वजनिक निष्काशन नगरेका विभिन्न संगठित संस्थाका सेयरलाई प्रि–आईपीको नाममा फेसबुक, टिकटक, युट्युब र ह्वाट्सएपजस्ता माध्यममार्फत् छिट्टै आईपीओ आउने भन्दै प्रचार गर्नेकार्य गैरकानुनी भएको जनाएको छ ।

साथै, यसरी, सर्वसाधारणलाई खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाउने गतिविधि गर्नेलाई कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।

प्रचलित कानूनअनुसार प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको स्पष्ट पार्दै बोर्डले धितोपत्र ऐन, २०६३ को दफा २९ को उपदफा ९१०० मा उल्लेख भएअनुसार संगठित संस्थाले एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्न खोजेमा अनिवार्यतः सार्वजनिक निष्काशन गर्नु पर्ने प्रावधान रहेको जानकारी गराएको छ ।

बोर्डले अनुमति बिना यसरी संगठित संस्थाको सेयर खरिद–बिक्री गर्नु कानुनविपरीत हुने र दण्डनीय कार्य हुने चेतावनी दिंदै, लगानीकर्तालाई यस्ता प्रलोभनमा नपरी सतर्क रहन आग्रह गरेको छ।