
एजेन्सी । भारतको प्रमुख फ्यान्टसी स्पोर्ट्स कम्पनी ड्रिम–११ ले भारतीय क्रिकेट नियन्त्रक बोर्ड (बीसीसीआई) लाई टाइटल स्पोन्सरशिप गर्न नसकिने जानकारी दिएको छ ।
भारतको केन्द्र सरकारले अनलाइन गेमिङ ऐन २०२५ पारित गरेपछि ड्रिम–११ ले फ्यान्टसीमा आधारित खेल सञ्चालन बन्द गर्नुपरेकाले भारतीय क्रिकेट टोलीको टाइटल प्रायोजनलाई निरन्तरता दिन नसकिने जनाएको हो ।
सरकारले ल्याएको यस विधेयकले वास्तविक धनमा आधारित गेमिङ सेवा र सम्बन्धित विज्ञापनलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ । यसले गर्दा भारतका फ्यान्टसी स्पोर्ट्स कम्पनीहरूको प्रमुख आम्दानी स्रोतमा ठूलो असर पारेको छ ।
सन् २०२३ मा बीसीसीआईले ड्रिम–११ सँग भारतीय टिमको प्रमुख प्रायोजक बन्नका लागि सम्झौता गरेको थियो । यसअघि बाइजुजसँगको सम्झौता गत मार्च महिनामा सकिएको थियो । त्यसपछि तीन वर्षका लागि ड्रिम–११ ले सम्झौता गरेको थियो ।
ड्रिम–११ ले ३५८ करोड भारुमा सन् २०२३ देखि २०२६ सम्मको सम्झौता गरेको थियो । त्यस्तै, आईपीएलको आधिकारिक साझेदार माई११सर्कलले सन् २०२४ को फेब्रुअरी महिनामा ६२५ करोड भारुको सम्झौता गरेको थियो । त्यसको म्याद सन् २०२८ सम्म कायम रहनेछ ।
ड्रिम–११ भारतका सबैभन्दा ठूला विज्ञापनदातामध्ये एक हो । सन् २०२२–२३ मा यसको अभिभावक कम्पनी ड्रिम स्पोर्ट्सले करिब २९ सय ६४ करोड भारु विज्ञापन र प्रवद्र्धनमा खर्च गरेको थियो । त्यो अघिल्लो वर्षभन्दा ३७ प्रतिशत बढी हो ।
नयाँ कानूनले विज्ञापन बजारमा ठूलो अवरोध ल्याउने आशंका गरिएको छ । इकोनोमिक टाइम्सको रिपोर्टअनुसार, फ्यान्टसी स्पोर्ट्स प्लेटफर्महरूले संयुक्त रूपमा वार्षिक ५ हजार करोड रुपैयाँभन्दा बढी विज्ञापन र मार्केटिङमा खर्च गर्ने गरेका छन् ।
सन् २०२२–२३ मा ड्रिम–११ ले मात्र २९ सय ६४ करोड भारु विज्ञापनमा खर्च गरेको थियो । त्यस्तै, माई११सर्कल र रम्मीसर्कल सञ्चालन गर्ने गेम्स२४इन्टु७ कम्पनीले १४ सय २१ करोड भारु खर्च गरेको थियो ।
आगामी सेप्टेम्बर ९ बाट एसिया कप २०२५ सुरु हुन लागेको छ । यस्तो अवस्थामा बीसीसीआई नयाँ प्रायोजक खोज्ने दौडधुपमा लागेको छ ।
यो विधेयक बुधवार लोकसभामा र भोलिपल्टै राज्यसभामा पारित भएको थियो। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रवार यसलाई स्वीकृति दिएकी थिइन् ।
अनलाइन गेमिङ विधेयक पारित भएपछि बीसीसीआई र ड्रिम–११ बीचको सम्बन्ध अन्त्य भएको छ । बीसीसीआईले आगामी दिनमा यस्ता कम्पनीसँग संलग्न नहुने सुनिश्चित गर्ने बीसीसीआईका सचिव देवजीत सैकियाले बताएका छन् ।








प्रतिक्रिया