चीनले लन्डनमा बनाउन लागेको विशाल दूतावास भवन विवादमा, गुप्तचर केन्द्र बनिरहेको दाबी

1.5k
Shares

एजेन्सी । बेलायतको राजधानी लन्डनमा चीनले बनाउन खोजेको विशाल दूतावास भवनको निर्माणमा ढिलाइ भएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, बेलायती अधिकारीहरूले भवनको नक्सामा रहेका अस्पष्ट भागबारेमा स्पष्ट पार्न चिनियाँहरूलाई आग्रह गरेका छन् । तर, चीनले थप विवरण दिन अस्वीकार गरेको छ ।

बेलायती मिडियाले चीनको भवनलाई सुपर एम्बेसीको संज्ञा दिएका छन् । यो युरोपकै सबैभन्दा ठूलो दूतावास परिसर हुने बताइएको छ ।

तर, सन् २०२२ मा चीनले भवन बनाउन इजाजतपत्रका लागि निवेदन दिएदेखि नै यसले पटकपटक प्रशासनिक अवरोधहरू सामना गरेको छ ।

गत शनिवार बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले आवास, समुदाय र स्थानीय प्रशासन मन्त्रालयले गरेको भवन निर्माण स्थगनबारे गम्भीर चिन्ता व्यक्त गरे । चीनले आफ्नो निवेदनमा सामान्य कूटनीतिक अभ्यास र सम्बन्धित प्रक्रिया पालना गरेको र बेलायती अधिकारीहरूले उठाएका सबै प्रश्नहरूको व्यापक जवाफ दिएको उनले दाबी गरे ।

“कूटनीतिक कार्यालयहरूको निर्माणका लागि सहयोग र सहजता प्रदान गर्नु आतिथेय देशको अन्तर्राष्ट्रिय दायित्व हो,” प्रवक्ताले भने । बेलायत आफैंले पनि बेइजिङमा आफ्नो नयाँ दूतावास भवन बनाउन लागेको उनले जानकारी दिए ।

गत शुक्रवार फाइनान्सियल टाइम्सले जनाएअनुसार, आवास सचिव एन्जेला रेयनरको अनुरोधका बावजूद चीनले नक्सामा स्पष्ट नपारिएका “सांस्कृतिक आदानप्रदान भवन” र “दूतावास गृह” बनाउने कारण र औचित्य पुष्टि गर्न अस्वीकार गरेको थियो ।

गत बुधवार चिनियाँ अधिकारीहरूले भित्री नक्सा पूर्णरूपमा उपलब्ध गराउनु आवश्यक वा उपयुक्त छैन भनेका थिए ।

त्यसपछि बेलायतको आवास मन्त्रालयले उक्त आवेदनको निर्णय अक्टोबर २१ सम्म स्थगित गर्ने घोषणा ग‍रेको थियो ।

चीनले सन् २०१८ मा लन्डन टावर नजिकै रहेको पाँच एकड क्षेत्रफलको रोयल मिन्ट कोर्ट साइट खरिद गरेको थियो । त्यहाँ दूतावास परिसर बनाउन चीनले प्रयास गर्दै आएको छ । त्यो हालको दूतावास भवनभन्दा दश गुणा ठूलो हुने अपेक्षा गरिएको छ ।

मिडियामा आएका रिपोर्टअनुसार, मुख्य भवनबाहेक यसमा विभिन्न कार्यालयहरू, २२५ आवास इकाइ र सांस्कृतिक आदानप्रदान केन्द्र पनि रहनेछन् ।

चीनले यस सुपर दूतावासलाई गोप्य निगरानी गतिविधिका लागि प्रयोग गर्न सक्ने आलोचकहरूले आशंका गरेका छन् ।

पछिल्ला वर्षहरूमा लन्डन र बेइजिङबीच पटक–पटक गुप्तचरी सम्बन्धी आरोप प्रत्यारोप चल्ने गरेको छ ।