
एजेन्सी । चीनको रियल इस्टेट कम्पनी एभरग्रान्डेलाई कुनै औपचारिक कार्यक्रमविना नै सोमवार हङकङ स्टक एक्सचेन्जबाट हटाइयो ।
कुनै समय चीनको आर्थिक क्षमताको प्रतीक मानिने यो कम्पनी १६ वर्षअघि हङकङमा सूचीबद्ध भएको थियो । त्यतिबेला यो देशकै सबैभन्दा छिटो बढ्ने रियल इस्टेट डेभलपर थियो । यसले लगानीकर्ताहरूलाई ठूलो नाफाको आशा देखाएको थियो ।
तर, अहिले यो संसारकै सबैभन्दा ठूलो ऋणको भारी बोकेको कम्पनीमध्ये एकको रूपमा सम्झिइने भएको छ ।
यसको पतनले चीनको वित्तीय प्रणालीलाई संकटको नजिक पुर्यायो ।
एभरग्रान्डेले बेइजिङको “धेरै ठूलो भएकाले असफल हुन सक्दैन” (टू बिग टु फेल) भन्ने नीतिलाई परीक्षण गरिदियो । यसको पतनसँगै चीनको रियल इस्टेटमा अत्यधिक निर्भर अर्थतन्त्रको कमजोरी पनि उजागर भयो ।
सन् २०२१ मा ३०० अर्ब डलरभन्दा बढी ऋणका कारण ढलेपछि हजारौं परियोजना अधुरा रहे । लाखौं घरधनी अझै आफ्नो फ्ल्याट पाइएला भनी पर्खिरहेका छन् । चीनभित्रका व्यवसायदेखि लन्डन र न्युयोर्कका लगानीकर्ताले समेत अझै भुक्तानी पाउन बाँकी छ ।
गत वर्ष हङकङकी एक न्यायाधीशले कम्पनी विघटनको आदेश दिइन् । यसका लागि लेहम्यान ब्रदर्सलाई पनि विघटनमा मद्दत गरेको एभारेज एन्ड मार्सल नामक कम्पनीलाई नियुक्त गरिएको छ । अहिलेसम्म उनीहरूले करिब १०० वटा कम्पनी र करिब ३.५ अर्ब डलर बराबरको सम्पत्ति नियन्त्रणमा लिएको भए पनि हङकङका ऋणदाताहरूले दाबी गरेको ४५ अर्ब डलरमध्ये जम्मा साढे २५ करोड डलर मात्र संकलन भएको छ ।
ऋणदाताहरूले चीनमा सयौं कानुनी मुद्दा दायर गरेका छन् र धेरै सम्पत्ति फ्रिज गरिएको छ । जटिल संरचना र हजारौं सहायक कम्पनीका कारण सम्पत्ति फिर्ता लिन झन् कठिन भइरहेको छ ।
यसैबीच अदालतमा चलिरहेको अर्काे मुद्दाले पूर्व अध्यक्ष हुई का यान, उनकी पत्नी डिङ यु मेई र पूर्व प्रमुख कार्यकारी सिया हाइजुनलाई लक्षित गरेको छ । उनीहरूले आफैंलाई ६ अर्ब डलर बराबरको सम्पत्ति भुक्तानी गरेको आरोप छ ।
हुईलाई सन् २०२३ मा पक्राउ गरेर ६५ लाख डलर जरिवाना र “ठगीको षड्यन्त्रमा संलग्न” भएको आरोप लगाइएको छ । उता, सियामाथि २० लाख डलर जरिवाना तिराइएको छ र वित्तीय बजार प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
अदालतको मिसिलअनुसार उनले क्यालिफोर्नियामा करोडौं डलरको घर र विलासी कार राखेका छन् ।
सियालाई सन् २०२४ को मार्च महिनामा जरिवाना तिराइनुअघि उनकी पत्नीले क्यालिफोर्नियाको न्युपोर्ट बिचमा १ करोड ४५ लाख डलर बराबरको घर बनाउन खर्च गरेकी छन् । आफूसँग ६४ सय डलरभन्दा बढीको सम्पत्ति नरहेको सियाले अदालतमा बयान दिएका छन् ।








प्रतिक्रिया