२ बैंकले राष्ट्र बैंक पठाए बाह्य लेखापरीक्षण गरेको वित्तीय विवरण, दसैंअघि आउला लाभांश ?

8.5k
Shares

काठमाडौं । सेयर लगानीकर्तालाई दसैं अगाडि नै लाभांश दिनको लागि २ बैंकले बाह्य लेखापरीक्षणपछि प्रारम्भिक स्वीकृतिको लागि वित्तीय विवरण राष्ट्र बैंक पठाएका छन् । माछापुच्छ्रे बैंकले गत साउनको अन्तिम सातामा नै राष्ट्र बैंकमा बाह्य लेखापरीक्षणपछिको वित्तीय विवरण पठाएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

एभरेष्ट बैंकले पनि गत साता राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागमा बाह्य लेखापरीक्षण पछिको वित्तीय विवरण पठाएको हो । २ बैंकले दसैं अगाडि नै साधारणसभा गरी लगानीकर्तालाई दसैं मान्न लाभांश दिने उद्देश्य अनुसार बाह्य लेखापरीक्षणपछि वित्तीय विवरण राष्ट्र बैंक पठाएका हुन् ।

राष्ट्र बैंकले स्वीकृत दिएमा चाँडै सञ्चालक समिति बैठक बसेर लाभांश प्रस्ताव गर्ने र दसैं अगाडि नै सेयर लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी लागेका हुन् । साधारणसभापछि कर्मचारीले पनि गत आर्थिक वर्षको नाफाबाट कर्मचारीले पाउने बोनस पनि पाउनेछन् । सकेसम्म कर्मचारीलाई दसैंको लागि बोनस दिन सकियोस् भन्ने उद्देश्य रहेको एक बैंकका उच्च अधिकारीले बताए ।

साधारणसभन्दा २१ दिन अगाडि साधारणसभाको सूचना प्रकशित गर्नुपर्ने हुन्छ । त्यसअघि सञ्चालक समितिबाट लाभांश प्रस्ताव गरी त्यसको स्वीकृतिको लागि राष्ट्र बैंक पनि पठाउनुपर्ने भएकाले यही साता राष्ट्र बैंकले स्वीकृति दिएमा मात्रै दसैं अगाडि साधारणसभा गर्ने सम्भावना रहेको उनले बताए ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको वितरणयोग्य नाफा र सञ्चित नाफा समेतबाट एभरेष्ट बैंक वाणिज्य बैंकहरुमध्ये नै सबैभन्दा धेरै लाभांश क्षमता भएको बैंक हो । बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।

१२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको ४ अर्ब ९५ करोड ४५ लाख वितरणयोग्य नाफा अर्थात् सञ्चित नाफा छ ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत छ । ११ अर्ब ६२ करोड १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख रुपैयाँ छ ।