५५ प्रतिशतको पुँजीगत खर्चलाई शत प्रतिशत पुर्याउन पर्यटनमन्त्रीको निर्देशन


काठमाडौं । ५५ प्रतिशतको पुँजीगत खर्चलाई शत् प्रतिशत पुर्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले निर्देशन दिएका छन् ।

पाण्डेले गत आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयको कार्ययोजना र माइलस्टोनको समग्र प्रगति ७७ प्रतिशत भएपनि पुँजीगत खर्च भने ५५.४८ प्रतिशत मात्रै भएकोले यसलाई चालू आवमा सुधार गर्न निर्देशन दिए ।

मन्त्री पाण्डेले पुँजीगत खर्च कम भएकोले त्यसलाई बढाउन र देखिने गरी प्रगति देखाउन पनि मातहतका कर्मचारीलाई निर्देशन दिए ।

चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, बजेट वक्तव्य र वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि महाशाखाहरूले आ आफ्नो कार्यक्षेत्रका निकायहरूसँग नियमित समन्वयात्मक छलफल बैठक गरी कार्य गर्न निर्देशन समेत दिएका छन् ।

उनले चालु आर्थिक वर्षमा साढे १२ लाख लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । यसका लागि मन्त्रालयको २७ वटा क्रियाकलापहरू र ३४ वटा माइलस्टोनहरू तय गरिएकोले त्यसलाई सम्पन्न गर्न पनि निर्देशन दिए ।