बैंक अफ इन्डियाले गर्‍यो घोषणा, अनिल अम्बानी ‘ठग’ हुन्


एजेन्सी । बैंक अफ इन्डियाले भारतीय व्यापारी अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्सको ऋण खातालाई ठगी घोषणा गरेको छ । यसअघि स्टेट बैंक अफ इन्डियाले पनि उक्त खातालाई ठगी घोषणा गरेको थियो ।

रिलायन्स कम्युनिकेसन्सबाट लिइएको रकमको गलत प्रयोग भएको बैंक अफ इन्डियाले सार्वजनिक फाइलिङमार्फत जनाएको छ । यसमा कम्पनीका पूर्व निर्देशक अनिल अम्बानीको नाम पनि समावेश छ ।

यो ऋणको विषय सन् २०१६ सँग सम्बन्धित छ । बैंकका अनुसार, अनिल अम्बानी र उनका केही पूर्व निर्देशकहरूले खाताबाट झिकेको रकमलाई अन्यत्र प्रयोग गरेका थिए ।

बैंक अफ इन्डियाले अनिल अम्बानीलाई पनि यस ठगी प्रकरणमा संलग्न रहेको दाबी गरेको हो । बैंक अफ इन्डियाले रिलायन्स कम्युनिकेसन्सलाई ७०० करोड भारु ऋण दिएको थियो ।

यस प्रकरणमा रिलायन्स कम्युनिकेसन्सले २२ अगस्टमा बैंक अफ इन्डियाबाट ८ अगस्टको मिति लेखिएको पत्र प्राप्त गरेको जनाएको छ । उक्त पत्रमा बैंकले कम्पनीका प्रमोटर तथा पूर्व निर्देशक अनिल अम्बानी र पूर्व निर्देशक मञ्जरी अशोक कक्कडको ऋण खातालाई ठगी घोषणा गरिएको जानकारी दिएको छ ।

यसअघि २३ अगस्टमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनिल अम्बानीविरुद्ध मुद्दा दर्ता गरेको थियो । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्सविरुद्ध २ हजार ९ सय २९ करोड रुपैयाँ बराबरको बैंक ठगी प्रकरणमा मुद्दा दर्ता गरेको हो ।

सोही दिन सीबीआईले मुम्बईस्थित रिलायन्स कम्युनिकेसन्स लिमिटेडको अफिस र अनिल अम्बानीको घरमा छापा मारेको थियो । यो प्रकरण स्टेट बैंक अफ इन्डियासँग सम्बन्धित छ ।

अनिल अम्बानीका कम्पनीहरूले ऋणको गलत प्रयोग गरेको आरोप पहिले नै स्टेट बैंक अफ इन्डियाले लगाएको थियो ।

एसबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स र स्वयं अम्बानीलाई ठग घोषणा गरेको थियो । एसबीआईका अनुसार, रिलायन्स कम्युनिकेसन्सले विभिन्न बैंकहरूबाट लिएको ३१ हजार ५ सय ८० करोड भारु बराबरको ऋणको गलत प्रयोग गरेको छ ।

यस रकममध्ये करिब १३ हजार ६ यस ६७ करोड रुपैयाँ अरू कम्पनीहरूको ऋण भुक्तानीमा प्रयोग भएको र १२ हजार ६ सय ९२ करोड रुपैयाँ रिलायन्स समूहका अन्य कम्पनीहरूलाई ट्रान्सफर गरिएको पाइएको छ । एसबीआईले यस मामिलामा सीबीआईमा उजुरी दर्ता गर्ने प्रक्रिया सुरु भएको पनि जनाएको छ ।

यसबाहेक, अनिल अम्बानीविरुद्ध व्यक्तिगत दिवालियापन (पर्सनल इन्सल्भेन्सी) सम्बन्धी कानूनी प्रक्रिया पनि नेशनल कम्पनी ल ट्रिब्युनल मुम्बईमा चलिरहेको छ ।