एडीबीले पाकिस्तानको सुनखानी विकासमा लगानी गर्ने


एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानको रेको डिक तामाखानी र सुनखानी परियोजनाको विकासका लागि ४१ करोड डलरको प्याकेज शुक्रवार स्वीकृत गरेको छ ।

पाकिस्तानको दुर्लभ खनिज भण्डारले विदेशी चासो आकर्षित गरिरहँदा मानवअधिकारसम्बन्धी चिन्ता पनि बढिरहेको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्ने यो खुला खानी (ओपनपिट) परियोजनाले विश्वकै सबैभन्दा ठूलो अहिलेसम्म उत्खनन नगरिएको तामा र सुनको भण्डार विकास गर्ने लक्ष्य राखेको छ । उत्पादन सन् २०२८ देखि सुरु हुने अपेक्षा गरिएको छ । यसबाट उच्च आम्दानी कमाउन सकिने बताइएको छ ।

दशकौंदेखि पाकिस्तानले खनिजमा समृद्ध यस दक्षिणी प्रान्तमा पृथक्तावादी विद्रोहसँग जुधिरहेको छ । विदेशी लगानीमा बनेका ऊर्जा परियोजना आक्रमणको लक्ष्य बन्ने गरेका छन् । प्रायः चिनियाँ कम्पनीले सञ्चालन गरेका परियोजनामाथि आक्रमण जारी छ ।

एडीबीले दिएको प्याकेजमा क्यानडाली कम्पनी बारिकलाई ३० करोड डलर ऋण र स्थानीय सरकारका लागि ११ करोड डलरको ऋण ग्यारेन्टी समावेश छ ।

पूरा भएपछि, रेको डिक विश्वकै पाँचौं ठूलो तामाखानी बन्ने प्रक्षेपण गरिएको छ । यो धातु तार, मोटर तथा नवीकरणीय ऊर्जा प्रविधिका लागि अत्यावश्यक मानिन्छ ।

रेको डिकले आवश्यक खनिज आपूर्ति श्रृंखलामा मद्दत गर्नेछ, सफा ऊर्जातर्फको यात्रालाई अघि बढाउनेछ र डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन दिनेछ, एडीबीका अध्यक्ष मासातो कान्दाले विज्ञप्तिमा भनेका छन् ।

कान्दाले यो प्याकेजलाई पाकिस्तानका लागि गेमचेन्जर भनेर वर्णन गरेका छन् । , यसले देशलाई थप सबल र विविधीकृत अर्थतन्त्रतर्फ अघि बढाउने उनको भनाइ छ ।

यद्यपि, बलुचिस्तानमा रेको डिक परियोजनाविरुद्ध आलोचना पनि बढेको छ । प्राकृतिक स्रोत दोहनबाट प्राप्त फाइदाको समान विभाजन नगरिएको असन्तुष्टिबाट पनि त्यहाँको विद्रोह चर्किएको हो ।

बलुचिस्तान हाइड्रोकार्बन र खनिजमा धनी भए पनि यहाँको १ करोड ५० लाख जनसंख्यामध्ये ७० प्रतिशत गरिबीको रेखामुनि छन् ।

तीन दर्जन नागरिक समाज संस्थाले एडीबी र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लाई रेको डिकमा लगानी स्थगित गर्न आह्वान गरेका छन् ।

यस परियोजनाले मानवअधिकारकर्मीहरूको असुरक्षा झन् बढाउने र वातावरणीय तथा सामाजिक विनाशमा योगदान पु‍र्याउने जोखिम छ, क्यानडाको माइनिङवाच र एसिया–प्रशान्त वातावरणीय अधिकार संरक्षक सञ्जाल लगायतका समूहहरूले मंगलवार सार्वजनिक खुला पत्रमा उल्लेख गरेका छन् ।

बारिक कम्पनीले यसबारे टिप्पणी गरेको छैन ।

हालै पाकिस्तानका सेनाप्रमुख आसिम मुनीरले देशलाई खनिज तथा दुर्लभ खनिजको केन्द्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग भन्सार शुल्कसम्बन्धी वार्ता पनि गरेका छन् ।

दशकौंदेखि पाकिस्तानी अधिकारीहरूले रेको डिक परियोजनालाई देशको आर्थिक पुनरुत्थान रणनीतिमा आधारशिलाका रूपमा प्रचार गर्दै आएका छन् ।

तर, यसको सम्भावना ठूलो भए पनि खानीको काममा धेरै वर्षदेखि ढिलाइ हुँदै आएको छ । कानुनी विवाद, प्रशासनिक जटिलता र संघीय तथा प्रादेशिक सरकारबीचको विभाजनका कारण परियोजना अघि बढ्न सकेको छैन ।