भेनेजुएलाविरुद्ध युद्धको तयारीमा अमेरिका,लागूपदार्थ रोकथाम कि मदुरोलाई सत्ताच्युत गर्ने लक्ष्य?


काठमाडौं । अमेरिकाले भेनेजुएलाविरुद्ध युद्धको तयारी थालेको छ । गत साता अमेरिकाले आफ्ना तीनवटा युद्धपोतहरू भेनेजुएलाको तटनजिक क्यारिबियन सागरमा तैनाथ गरेको छ ।

यूएसएस सान एन्टोनियो, यूएसएस इवो जिमा र यूएसएस फोर्ट लाउडरडेल नाम गरेका ती युद्धपोतसँगै पी–८ गुप्तचर विमान, एउटा आक्रामक पनडुब्बी र करिब २४ सय मरिन सैनिकहरू पनि त्यस क्षेत्रमा तैनाथ गरिएका छन् ।

दक्षिण अमेरिकाबाट अमेरिकामा आइरहेको लागूपदार्थलाई रोक्ने उद्देश्यका साथ सैनिक र युद्धपोतहरू तैनाथ गरिएको अमेरिकाको ट्रम्प प्रशासनको भनाइ छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई लागूपदार्थ आतंकवादी (नार्को टेररिस्ट) को संज्ञा दिँदै अमेरिकाले उनकै रेखदेखमा फेन्टानाइल नामक खतरनाक रसायनलाई कोकेनमा हालेर अमेरिका भित्र्याइने गरेको आरोप लगाएको छ ।

सूर्यहरूको आपराधिक समूह (स्पेनी भाषामा कार्टेल दे लोस सोल्स) नामक लागूपदार्थ ओसारपसार गर्ने आपराधिक समूहको नेतृत्व मदुरोले गरिरहेको आरोप अमेरिकाले लगाएको छ ।

अमेरिकाले त्यस समूहलाई गत जुलाईमा आतंकवादी संगठन घोषणा गरेको थियो । अमेरिकाको विदेश मन्त्रालयले मदुरोलाई पक्राउ गर्नका लागि सूचना उपलब्ध गराउने व्यक्तिलाई ५ करोड डलर दिने घोषणा पनि गरेको छ ।

तर, मदुरोले लागूऔषध ओसारपसार गरेको ठोस प्रमाण अमेरिकाले उपलब्ध गराएको छैन । बरु मदुरोले लामो समयदेखि देशमा लागूऔषधको प्रवाहलाई रोक्ने कदम चलाइरहेका छन् ।

सन् २००५ मा भेनेजुएलाका तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले अमेरिकी निकाय यूएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनलाई गुप्तचरी गरेर भेनेजुएलाको सार्वभौमसत्तालाई अवमूल्यन गरेको आरोप लगाउँदै निकालिदिएपछि अमेरिकाले भेनेजुएलालाई ‘ड्रग ट्रान्जिट’ मुलुक भएको आरोप लगाउने गरेको छ । तथ्य के हो भने नेशनल एन्टी नार्कोटिक्स अफिस तथा बोलिभेरियन नेशनल आर्म्ड फोर्सेस जस्ता निकायमार्फत भेनेजुएलाले लागूऔषध ओसारपसार रोक्न कठोर कारवाही चलाइरहेको छ ।

त्यसैले खासमा अमेरिकाको यो कारवाही लागूपदार्थ ओसारपसारविरुद्ध भन्दा पनि मदुरोलाई सत्ताच्युत गर्ने प्रयास हो भनी कतिपय विश्लेषकहरूले बताएका छन् ।

हुन पनि मदुरोले भेनेजुएलामा समाजवादी शासन चलाएर चीन तथा रुससँग साझेदारी गरेको अमेरिकाले पटक्कै रुचाएको छैन । संसारको सबभन्दा धेरै तेल भण्डार भएको मुलुक भेनेजुएलाले अमेरिकी कम्पनीहरूलाई आफ्नो तेलमाथि नियन्त्रण कायम गर्न दिनबाट पनि रोकिरहेको छ ।

त्यसैले ट्रम्प प्रशासनको पहिलो कार्यकालमा (सन् २०१९) मदुरोलाई सत्ताच्युत गर्नका लागि हुआन खुवाइदो नामक व्यक्तिलाई राष्ट्रपतिको संज्ञा दिएर जनतालाई आन्दोलित गर्ने प्रयास गरिएको थियो । त्यतिखेर मदुरोलाई हत्या गर्नका लागि पनि धेरैपटक प्रयासहरू गरिएको थियो । सन् २०२० को मे महिनामा भेनेजुएला पुगेका भाडाका सैनिकहरूलाई भेनेजुएलाका मिलिसियाले पक्राउ गरेका थिए । तीमध्ये दुईजना अमेरिकी नागरिक थिए ।

अमेरिकाले भेनेजुएलामाथि लगाएको वक्रदृष्टिका बारेमा खोज पत्रकार आन्या पारामपिलले आफ्नो पुस्तक ‘कर्पोरेट कू: भेनेजुएला यान्ड दी एन्ड अफ यूएस एम्पायर’ मा विस्तारपूर्वक वर्णन गरेकी छन् ।

मदुरोभन्दा अघि ह्युगो चाभेजले सन् १९९९ देखि नै भेनेजुएलामा समाजवादी प्रणालीमार्फत शासन चलाइरहेका थिए । मदुरो उनैका चेला हुन् । आफ्नो ‘ब्याकयार्ड’मा समाजवादी सरकार बनेको र त्यसले आफ्ना दुश्मनहरू रुस र चीनसँग सुमधुर सम्बन्ध कायम गरेको अमेरिकालाई अपाच्य भइरहेको थियो । त्यसैले भेनेजुएलालाई झुकाउनका लागि अमेरिकाले सन् २०१५ देखि नै आर्थिक तथा अन्य प्रतिबन्धहरू लगाउँदै आएको थियो ।

तर, अमेरिकी प्रतिबन्धका बावजूद भेनेजुएला धराशायी भएको छैन । विश्व बैंकको तथ्यांकअनुसार, सन् २०२० मा ट्रम्प प्रशासनले लगाएको कठोर प्रतिबन्धका कारण भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन माइनस ३० प्रतिशत थियो । तर, ट्रम्प हटेपछि सन् २०२१ मा ०.९६ प्रतिशतको वृद्धि भएको थियो भने सन् २०२२ मा त्यो ह्वात्तै बढेर ८ प्रतिशत पुगेको थियो ।

तेल उत्पादन बढाएकाले भेनेजुएलाले आर्थिक वृद्धिको अवसर पाएको थियो । सन् २०२० मा जम्मा ४ लाख ब्यारल प्रतिदिन तेल उत्पादन गर्न पाएको भेनेजुएलाले त्यसपछि १२ लाख ब्यारल प्रतिदिनसम्म उत्पादन गरेको थियो ।

विशेषगरी, रुसले युक्रेनविरुद्ध आक्रमण थालेपछि अमेरिकाले रुसी तेलको विकल्प खोज्ने क्रममा भेनेजुएलाको तेललाई उत्तम विकल्प मानेको थियो । त्यसैले बाइडन प्रशासनले भेनेजुएलाको तेलमाथिको प्रतिबन्ध खुकुलो बनाएको थियो ।

सन् २०२३ मा करिब ५ प्रतिशतको आर्थिक वृद्धि भएकोमा सन् २०२४ मा पुनः ८ प्रतिशतको वृद्धि भयो । सन् २०२५ को पहिलो ६ महिनामा ६ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ ।

यसबीचमा भेनेजुएलामा एक दशकमै पहिलोपटक गरिबी दर घटेको छ । स्ट्याटिस्टाका अनुसार, भेनेजुएलामा सन् २०१९ मा ९६.२ प्रतिशत गरिबी दर रहेकोमा सन् २०२३ मा आइपुग्दा त्यो घटेर ८२.४ प्रतिशतमा झरेको छ । मदुरोले चलाएका ग्रान मिस्योन एन आमोर मायोर र कोमिते लोकाल दे आबासतेसिमिएन्तो ई प्रोडुस्सियोन जस्ता विभिन्न सामाजिक कल्याणका साथै मुद्रा नियन्त्रणमा खुकुलोपनका कारण गरिबी दर घटेको हो ।

तर, ८२.४ प्रतिशत गरिबी दर पनि निकै धेरै हो । त्यही गरिबीका कारण ठूलो संख्यामा भेनेजुएलावासीहरू विदेश पलायन भइरहेका छन् । अमेरिकामा पनि भेनेजुएलावासीहरू व्यापक संख्यामा जान थालेपछि ट्रम्प प्रशासनले उनीहरूलाई आप्रवासन गर्नबाट रोक्नका लागि प्रयास गरिरहेको छ । अहिले मदुरोविरुद्धको कारवाहीको प्रयाससँग त्यो कुरा पनि जोडिएको छ ।

जति गर्दा पनि मदुरोले घुँडा नटेक्ने लक्षण नदेखिएपछि अमेरिकाले आक्रामकता बढाउन थालेको हो । आर्थिक प्रतिबन्धले सार्वभौम मुलुकलाई झुकाउन सकिँदैन भन्ने उदाहरण रुस, क्युबा, इरान, उत्तर कोरिया र अहिले भेनेजुएलाले पनि प्रस्तुत गरेपछि क्रुद्ध भएको अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारवाही चलाउने तयारी गरेर साम्राज्यवादविरोधीहरूको घाँटी निमोठ्न खोजेको विश्लेषकहरू बताउँछन् ।

भेनेजुएलालाई तर्साउनका लागि क्यारिबियाली सागरमा युद्धपोत पठाएसँगै ट्रम्प प्रशासनले मेक्सिको सीमामा पनि नार्को टेररिजमकै बहानामा सैनिकहरूको संख्या बढाएको छ । अहिले साढे ७ हजारभन्दा बढी अमेरिकी सैनिकहरूले मेक्सिको सीमामा गश्ती गर्न थालेका छन् र त्यो पहिलेको भन्दा तीन गुणा बढी संख्या हो । त्यसो त त्यस सैन्य तैनाथीले अवैध आप्रवासीहरू अमेरिका पस्ने क्रमलाई चाहिँ स्वाट्टै घटाइदिएको छ ।

तर, सीमामा सैनिकहरूको संख्या बढाएर ट्रम्प प्रशासनले कुनै पनि बेलामा मेक्सिकोभित्र पसेर लागूपदार्थ ओसारपसार गर्ने कार्टेलहरूविरुद्ध सैन्य कारवाही गर्न सकिने संकेत दिएको छ । गत मे महिनामा ट्रम्पले अमेरिकी सेनालाई मेक्सिको पठाउन खोजेको तर ड्रग कार्टेलको डरले गर्दा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबमले त्यसको अनुमति नदिएको दाबी गरेका थिए । शेनबमले पनि मेक्सिकाकोे भूमिमा अमेरिकी सैनिकहरूलाई प्रवेश गर्न नदिइने स्पष्ट पारेकी छन् ।

छिमेकी मेक्सिकोमा मात्र नभई अमेरिकामै पनि (आप्रवासीहरूले गरिरहेको भनिएको) अपराध घटाउनका लागि ट्रम्पले सैनिक परिचालन गर्नका लागि तदारुकता देखाएका छन् ।

विभिन्न राज्यका गभर्नरहरूले आपत्ति जनाएको भए पनि ट्रम्पले अमेरिकी शहरहरूमा नेशनल गार्डका सुरक्षाकर्मीहरू तैनाथ गरेका छन् । क्यालिफोनिर्याको लस एन्जलस र देशको राजधानी वाशिङटन डीसीमा सेना परिचालन गरेका ट्रम्पले शिकागोमा पनि सेना परिचालन गरिने बताएका छन् । यसरी स्वदेश र विदेशमा सेना परिचालन गरेर ट्रम्पले राष्ट्रिय सुरक्षाको नाममा संकटकालको घोषणा गर्ने र नागरिकका हकअधिकारहरू खोस्ने योजना बनाएको आलोचकहरू आशंका गर्छन् ।

भेनेजुएलाको कुरा गर्नुपर्दा, मदुरोलाई घुँडा टेकाउन सोचे जस्तो सजिलो छैन । ट्रम्पले युद्धपोत पठाएर धम्क्याएपछि मदुरोले देशभरि ४५ लाख मिलिसिया परिचालन गरेर ‘भेनेजुएलाको पवित्र माटोलाई अमेरिकी साम्राज्यले छुन नसक्ने’ उद्घोष गरे । उनले अमेरिकाबाट हवाई आक्रमण हुन सक्ने आशंकामा नागरिकलाई ड्रोन उडाउन बन्देज लगाएका छन् । अमेरिकी आक्रमणको प्रतिकार गर्नका लागि जमिनबाट आकाशमा मार हान्ने रुसको एस–३०० प्रणाली, चीनको रेडार प्रणाली र जहाजनिरोधी क्षेप्यास्त्रहरू पनि भेनेजुएलाले तयारी अवस्थामा राखेको छ ।

रुस र चीनले भेनेजुएलाको प्राकृतिक स्रोत पूर्वाधारमा अर्बौं डलरको लगानी गरेका छन् । उनीहरू अमेरिकालाई सजिलैसँग त्यो तेल कब्जा गर्न दिने सम्भावना देखिँदैन । रुसी सैन्य सल्लाहकारहरू भेनेजुएलाको राजधानी काराकासमा रहेको बताइन्छ ।

चीनले सैन्य सहयोग नगर्ने भए पनि सन् २००७ देखि नै ६७ अर्ब डलरभन्दा बढी लगानी गरेको भेनेजुएलालाई अलपत्र छोड्ने छैन । भेनेजुएलाको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने भन्दै चीनले अमेरिकाको युद्धपोत तैनाथीको निन्दा गरेको छ ।

अमेरिकाले भेनेजुएला नजिक शक्तिप्रदर्शन गरेर खासमा रुस र चीनलाई सन्देश दिन खोजेको हो । दक्षिण अमेरिकामा बाह्य शक्तिको उपस्थिति सह्य नहुने पुरानो मोनरो डक्ट्रिनलाई अमेरिकाले ब्युँताउन खोजेको देखिन्छ । त्यससँगै युक्रेन युद्ध अन्त्य गर्न नसकेको र गाजामा इजरायलले गरिरहेको नरसंहार रोक्न नसकेकोमा आलोचना बेहोरिरहेका ट्रम्पले ध्यान भड्काउनका लागि पनि भेनेजुएलामा शक्तिप्रदर्शन गरेका हुन सक्छन् ।

तर, बहुध्रुवीय विश्वको उदय भइसकेको वर्तमान परिप्रेक्ष्यमा अमेरिकी साम्राज्यले जे चाह्यो त्यही हुने सम्भावना क्षीण छ ।