
काठमाडौं । नेपाल वायुसेवा निगमको साउदी अरवको दम्माम उडान रद्द हुनु र हङ्कङ गएको बेला सोही उडानमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सोही उडानबाट फर्कनु संयोगमात्रै भएको उल्लेख गरिएको छ ।
वायुसेवा निगमले एक प्रेस विज्ञप्ति जारी गरेर केही दिन अगाडि काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ गएको भन्ने सन्देश प्रवाह हुने गरी सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचार तथ्यहीन भएको निगमको दाबी छ ।
यसबाट आम जनमानसमा सिर्जना भएको भ्रम निवारण गर्न तथा यथार्थ जानकारी दिने उद्देश्यले निगमले स्पष्टिकरणका लागि प्रेस विज्ञप्ति जारी गरिएको जानकारी दिएको छ।
निगमको एउटा जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं दम्माम सेक्टरको उडान रद्द गरिएको थियो । उक्त उडान रद्द हुँदा सोही सेक्टरको यात्रुहरूलाई निगमकै खर्चमा अन्तर्राष्ट्रिय उड्डयन संस्थाको नियमानुसार वासको सुविधा उपलब्ध गराइएको निगमको भनाइ छ ।
निगमका अनुसार उक्त सेक्टरमा होल्ड भएका यात्रुहरूलाई अर्को दिन वैकल्पिक उडानमार्फत् गन्तव्यमा पुऱ्याउने व्यवस्था समेत गरिएको थियो ।निगमको जहाज नियमित तालिकाअनुरुप उडान गर्दैगर्दा बीचमा अचानक प्राविधिक समस्या आएको कारणले कुनै न कुनै सेक्टरको उडान अवरुद्ध हुने परिस्थितिमा तत्काल उडान भर्ने दम्माम सेक्टरनै रद्द हुन गएको निगमको दाबी छ ।
निगमले आफ्नो उडान तालिकाको प्रभावकारिता कायम गर्न एउटा उडान स्थगित भएपछि अर्को उडानलाई असर नगर्ने हेतुले हङकङ उडान संचालन गरेको पनि जानकारी दिएको छ । उक्त दिनको उडानमा निगमका कार्यकारी अध्यक्ष लगायतका टोली फर्किने संयोग मात्र परेको दाबी निगमका छ ।
निगमका कार्यकारी अध्यक्ष नेतृत्वको टोलीको हङकङ भ्रमण निगमको उडान सेवा विस्तार, बजार सुदृढीकरण, कार्गो तथा यात्रु सेवा सुधार र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न औपचारिक रूपमा एक महिना अगाडि स्वीकृत योजनाअनुसार नेपाल हङकङ उडानको ४३ औं वर्षगाँठको उपलक्ष्यमा सो कार्यक्रममा सहभागि हुन गएका थिए ।
उक्त कार्यक्रममा कार्गो ट्र्याकिङ्ग सिस्टम, उडान ढिलाइ तथा रद्द हुने समस्या समाधान, वाइडबडी जहाजको प्रभावकारी प्रयोग गर्ने विषयमा हङकङस्थित सरोकारवाला ट्राभल एजेन्सी तथा नेपाली समुदायसँग प्रत्यक्ष छलफल भएको पनि निगमको भनाइ छ ।









प्रतिक्रिया